२३ भाद्र २०८१, आइतबार | September 8, 2024

चिनियाँ कम्पनीले निर्माण गरिरहेको फाष्ट ट्रयाक ढिलाईमा प्रचण्डको चासो


0
Shares

काठमाडौं, ५ वैशाख । नेपाली सेनाले जिम्मा लिएर चिनियाँ ठेकेदार कम्पनीहरुले निर्माण गरिरहेको काठमाडौं-तराई फाष्ट ट्रयाक ढिलाई भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुगमन गरेका छन् । आज मङ्गलवार उनले फाष्ट ट्रयाकको अवलोकन गरी निर्माणबारे जानकारी लिएका हुन् । कामको ढिलाईप्रति प्रचण्डले गम्भीर चासो व्यक्त गरेको बुझिएको छ ।

प्रचण्डका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सेनापति प्रभुराम शर्मा र वरिष्ठ सैनिक अधिकारीहरु सहभागी थिए ।

२०८१ साल भित्र निर्माण पूरा गर्नुपर्ने भएपनि फाष्ट ट्रयाकको निर्माण २५ प्रतिशत पनि पूरा भएको छैन । ११ वटा प्याकेजमा निर्माणको काम बाँडिएकोमा ६ वटा प्याकेजको मात्र ठेक्का लागेको छ । जसमा सबै चिनियाँ कम्पनी छन् ।

प्याकेज १ र २ मा १० किलोमिटर टनल रहेका छन् । जसमा क्रमशः चाइना स्टेन इन्जिनियरिङ र पोली चान्डा इन्डिनियरिङले ठेक्का पाएका छन् ।

सडक र पुलहरुको ठेक्का सिचुआन जेभी, पोली चान्डा इन्जिनियरिङ र एसडीएलक्यु चाइनालाई ठेक्का दिइएको छ । ७२.५ किलोमिटर एक्सप्रेस हाइवे को निर्माणमा एक खर्ब ७५ करोड नेपाली रुपैयाँ लागत अनुमान छ । तर, निर्माण अवधि बढ्ने भएकाले लागत पनि बढ्न सक्छ ।

सेनाले सरकारलाई फाष्ट ट्रयाकको निर्माण अवधि बढाउन पत्राचार गरिसकेको छ । उसले थप दुई वर्ष समयावधि थप्ने प्रक्रिया बढाएको सैनिक स्रोतले जानकारी दिएको छ । सेनाले फाष्ट ट्रयाक निर्माणको जिम्मा लिएर चिनियाँ कम्पनीहरुलाई जिम्मेवारी दिंदा निकै विवाद भएको थियो । संसदले समेत ठेक्का रद्द गर्न भनेपनि तत्कालीन केपी शर्मा ओलीको सरकारले रोक्न तयार भएन ।

प्रतिक्रिया