१० माघ २०८१, बिहिबार | January 23, 2025

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’

उहाँले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब जनता र कार्यकर्ता तिर फर्केर मात्र पार्टी बन्छ । नेताहरुबाट समर्थन लिएर र सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नै पर्ने भएको छ । पार्टी हामी सबै मिलेर बनाउनु नै छ । पार्टी बनाउने राजनीति, बिचार र संस्कृतिमा गयौं भने पार्टी बन्न ढिलो पनि हुन्न ।’ प्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौति भएपनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूहरुले संकल्प लिएको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले पार्टीका नेताहरुलाई निर्देशन दिँदै भन्नुभयो, ‘लेखौं, बोलौं र प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गरौं । हामी सबैले आफ्नो भूमिका पुरा ग¥यौं भने हाम्रो तागत ठूलो छ । सरकारको नेतृत्व लिएपछि पनि धेरै कामहरु गर्न प्रयास भएका छन् । केही सफल भएका छन्, केही सफल हुँदैछन् । पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइँमा उठाउन जरुरी छ । सरकारलाई जनताको आशा अपेक्षा अनुसार जनमुखी बनाउने ऐतिहासिक चुनौति र जिम्मेबारी हाम्रो काँधमा छ ।’

प्रतिक्रिया