३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्रीमा माधव नेपालको सम्भावना बढ्यो


December 25, 2022
0
Shares

काठमाडौं, १० पौष । प्रधानमन्त्रीको दौडमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सम्भावना बढेको छ । उनले रणनीतिक रुपमा सक्रियता बढाएका छन् । स्वास्थ्योपचार गरी कोटेश्वर फर्किएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सक्रियता बढाएका हुन् ।

नेपाललाई निवासमै पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार भेटे । भेटमा गठबन्धन जोगाउने र आलोपालो प्रधानमन्त्रीको विषयबारे छलफल भयो ।

प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा सक्रिय छन् । तर, एमाले अध्यक्ष केपी शर्मा आलीले प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने बताएर तरंग ल्याइदिएका छन् । यो भनाई अर्थपूर्ण छ ।

नेपाली काँग्रेसले आलोपालोमा सुरुमा सरकारको नेतृत्व दाबी गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न लालायित छन् । देउवा र प्रचण्ड एक अर्कालाई नछाड्ने अडानमा रहँदा माधव नेपालले दुई हप्ता अघि मौका आफूलाई आउनसक्ने ठानेर प्रस्ताव आए पछि नहट्ने बताएका थिए ।

देउवा र प्रचण्डबीचको टकरावले माधव नेपाललाई फाइदा पुग्ने सम्भावना पनि छ । काँग्रेस राष्ट्रपति नछाड्ने पक्षमा छ । त्यसका लागि उसले प्रधानमन्त्री छाड्नुपर्ने हुन्छ । सभामुख माओवादीले पाउने गरी राष्ट्रपति आफूले लिने र प्रधानमन्त्रीमा माधव नेपाललाई एक वर्षका लागि छाड्ने गरी काँग्रेसका देउवानिकट रणनीतिकारहरु लागेको बुझिएको छ ।

प्रचण्डको प्रधानमन्त्री बन्ने दौडमा रोक लगाउँदा काँग्रेसले केही लाभ देखेको छ । गठबन्धनबाटै अर्को व्यक्तिको वा देउवाको प्रधानमन्त्रीमा सुनिश्चितता या गठबन्धनबाहिर गएर राष्ट्रपतिसहित प्रधानमन्त्री पाउने सम्भावना । तर, यो जोखिम मोल्दा काँग्रेसलाई धक्का परेर सबै पद गुमाउनुपर्ने अवस्था पनि बन्न सक्छ । यसका लागि पनि काँग्रेसले माधव नेपाललाई अघि सारेर जाने पूर्वतयारी बनाइरहेको छ ।

एमाले फुटाएर नेकपा एस बनाएका माधव नेपालले देउवालाई विगतमा प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसकारण पनि उनी उत्साही छन् । देउवाले पनि प्रचण्डलाई भन्दा माधव नेपाललाई बनाउँदा राजनीतिक लाभ लिन सकिने ठानेको देखिन्छ । यसकारण यसपटक माधव नेपालले बाजी मार्नसक्ने सम्भावना छ ।

प्रतिक्रिया