३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सत्ताका लागि रेशम र सीके प्रवृत्तिलाई रातो कार्पेट


December 12, 2022
0
Shares

काठमाडौं, २६ मंसिर । सत्ताका लागि नेताहरुले के मात्र गर्दैनन् भन्ने पछिल्लो घटनाक्रमले देखाउन थालेको छ । उनीहरु जातीय मुद्दा लिएर हिंसामा उत्रने देखि पृथकतावादीलाई प्रोत्साहित गर्न थालेका छन् ।

सीके राउतको दल जनमत पार्टी राष्ट्रिय पार्टी बनेलगत्तै सत्ताको दौडमा रहेका नेताहरुले महत्व दिन थालेका छन् । राउत कुनैबेला मधेशलाई अलग गर्ने मुद्दा बोकेर सक्रिय थिए । पृथकतावादी बनेका राउतले त्यो मुद्दा छाडेको घोषणा गरेपनि यसलाई रणनीतिका रुपमा बुझ्न सकिन्छ । उनै राउतलाई चुनाव जिताउन सत्ता गठबन्धन नै लागिपरे । अहिले उनलाई निकै महत्व दिन थालिएको छ ।

थरुहट आन्दोलनका नाममा टीकापुर घटनामा प्रहरीको ज्यान जाँदा मुख्य नेता थिए रेशम चौधरी । उनी हत्याको आरोपमा जेलमा छन् । तर, उनै चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले चुनावी सफलता हासिल गर्यो । रेशम चौधरीलाई साथ लिन प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्दा फिर्ता लिने गरी अध्यादेश ल्याउने निर्णय गराए ।

हिंसामा उत्रिएर रणनीतिक रुपमा खुला गतिविधिमा रहेको विप्लव नेतृत्वको नेकपा अहिले पनि अतिवादी धारमा छ । विप्लवमाथि हत्या, अपहरण र बम बिष्फोटलगायतका हिंसात्मक गतिविधि गरेको आरोपमा मुद्दाहरु छ । तर, ती सबै फिर्ता गराउने गरी अध्यादेशहरु ल्याउने तयारी छ ।

देशमा सत्ताका लागि हिंसा र पृथकतावादीलाई प्रोत्साहन गर्ने गतिविधिहरु हुँदै आएको छ । अतिवादी नभई शक्ति सञ्चय गर्न नसक्ने सोच हावी छ । यो इतिहासको निरन्तरतासँगै यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने गरी राज्यले नीति ल्याउने गरेको छ । यो देशका लागि घातक सिद्ध हुँदै आएको छ ।

प्रतिक्रिया