८ माघ २०८१, मंगलबार | January 21, 2025

को बन्ला प्रधानमन्त्री ?


November 28, 2022
0
Shares

काठमाडौं, १२ मंसिर । प्रतिनिधि सभाको निर्वाचनपछि सरकार गठनको प्रारम्भिक तयारी सुरु भइसकेको छ । नेताहरु आन्तरिक परामर्श र भेटघाट अगाडि बढाइरहेका छन् ।

नेपाली काँग्रेसले सबैभन्दा बढी सिट ल्याउने निश्चित भएसँगै उसको प्रधानमन्त्रीमा बलियो दाबेदारी रहने निश्चित छ । तर, काँग्रेसबाट वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा या अन्य नेताको दाबेदार हुने हो ? चासो बनेको छ । काँग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ ।

काँग्रेसभित्र प्रधानमन्त्रीको दौडमा देउवाका अलावा रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र गगन थापा देखिएका छन् । संसदीय चुनावमा यसकारण पनि रोचक भिडन्त हुने देखिन्छ ।

सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री दाबेदारी छ । देउवा र प्रचण्डबीच प्रधानमन्त्री बन्न भद्र सहमतिको चर्चा चलिरहेको छ । तर, प्रचण्डसँग गठबन्धनलाई बहुमत पुर्याउन पर्याप्त सिट पुग्दैन । नेकपा एसको सिट थप्दा पनि केही सिट अभाव हुनसक्छ । स्वतन्त्र केही सांसदहरुको समेत साथ मिलेमा मात्र गठबन्धन बहुमतमा पुग्छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्रीका दाबेदार छन् । गठबन्धनभित्र तीन नेताबीच प्रधानमन्त्री बन्ने मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीका दाबेदार हुन् । तर, एमालेले बहुमत पुर्याउन माओवादी, नेकपा एस र राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाउनुपर्ने देखिन्छ । जुन कठिन देखिन्छ ।

नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि प्रधानमन्त्रीका दाबेदार देखिन्छ । राप्रपाले पनि सत्ता संघर्षमा बाजी मारेमा उसका नेताहरु पनि प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिने छन् ।

प्रतिक्रिया