३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्ड चक्रव्यूहमा फस्दै, सत्ताको खेलमा नयाँ ट्वीस्ट


5.1k
Shares

काठमाडौं, २३ फागुन । सत्ता राजनीतिको चक्रव्यूहमा एकले अर्कालाई फसाउने खेलमा लागेका शीर्ष नेताहरुका लागि अबको केही हप्ता चुनौतीपूर्ण बन्ने भएको छ । गठबन्धन फेरेर नयाँ उथलपुथल ल्याएको दाबी गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता राजनीतिको चक्रव्यूहमा फस्दै गएका छन् ।

प्रचण्डले वाम गठबन्धनको शंखघोष गरेर नयाँ गठबन्धन बनाएपछि जनता समाजवादी पार्टीभित्र विद्रोहको खतरा देखिएको छ । अध्यक्ष उपेन्द्र यादव विद्रोह रोक्न नसकिने देखेपछि ब्याक भएका छन् तत्काललाई । जसपासँग १२ सांसद छ जुन नयाँ गठबन्धनका लागि बहुमत पुर्याउन पर्याप्त हुन्छ ।

उपेन्द्र यादवले पार्टीभित्र व्यवस्थापन गर्न नसकेपछि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको कोटेश्वर दौडधूप भएको खुलिसकेको छ । तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पालो आउन लागेको प्रधानमन्त्री पदको ढोका बन्द गरेकोमा भित्र भित्र रुष्ट छन् । उनी यो गठबन्धनमा जाने सम्भावना कमजोर भएको छ ।

माधव नेपालले गठबन्धनमा जाने सम्भावना कमजोर भएपछि प्रचण्डले झलनाथ खनाललाई गुहारेका छन् । तर, खनाल नेकपा एसभित्र कमजोर छन् अहिले । माधव नेपालको दल फुटाएर भएपनि सत्ताको दाउपेच चलाउने तयारी पनि भइसकेको छ भित्र भित्र ।

जसपा रोकिएमा अहिलेको गठबन्धन वाम गठबन्धन जस्तै हुनेछ । त्यस्तो गठबन्धनमा रहँदा रवि लामिछानेको दल रास्वपामा पनि समस्या आउन सक्छ । भित्र भित्र रास्वपामा विरोध खुल्न थालिसकेको छ । २० सिटको रास्वपाभित्र पनि विद्रोहका छनक देखिन थालिसकेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको दौडधूप चलिसकेको छ । उनले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास गरिसकेका छन् । नेपाल भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेता पनि हुन् ।

प्रतिनिधि सभामा २७५ सदस्य संख्या रहेकोमा सुभाषचन्द्र नेम्वाङको निधनपछि रिक्त सिटका कारण सभामुखबाहेक २७३ हुनआउँछ । बहुमतका लागि १३७ सांसद चाहिन्छ ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७७, नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, स्वतन्त्र २, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, आम जनता पार्टी, नेमकिपा र राजमोको १ १ सदस्य रहेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपा मिलेमा स्पष्ट बहुमत हुन्छ । जसपा नआए नेकपा एसको मत चाहिन्छ । जसपा र एस दुवैले समर्थन नगरे जनमत, लोसपा, नागरिक उन्मुक्तिको साथ चाहिन्छ । तर, लोसपा सरकारमा जाने सम्भावना देखिदैन । जनमत र नागरिक उन्मुक्ति पनि रोकिन सक्छन् ।

विकसित घटनाक्रमले सत्ताको खेलमा प्रचण्ड चुक्नसक्ने सम्भावना बढेको छ । उनी सत्ता राजनीतिको चक्रव्यूहमा फस्ने सम्भावना देखिएको छ । यसले देशको राजनीतिमा फेरि नयाँ अस्थिरतालाई बढावा दिन सक्छ ।

प्रतिक्रिया