२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गोर्खाभर्ती एकवर्ष देखि रोकियो, कहिले खुल्ला ?


83
Shares

काठमाडौं, २५ असार । नेपालले अग्निपथ योजनामा अहसमति जनाएपछि एकवर्षयता रोकिएको गोर्खा सैनिक भर्ती खुल्नेबारे अन्यौल बढेको छ । सर्वपक्षीय सर्वसहमतिबाट निर्णय लिने भएपनि कहिले लिने यकिन छैन । अर्कोतर्फ, अग्निपथ योजना अन्तर्गतको गोर्खा भर्तीबारे असहमतिपछि कूटनीतिक पहल पनि गरेको छैन ।

परराष्ट्रमन्त्री एनपी साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय लिने बताएका छन् । उनले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै भारतीय गोर्खा सैनिक भर्तीबारे सर्वदलीय सहमतिको आवश्यकता औल्याए । सहमतिकै आधारमा त्यसबारे निर्णय लिइने उनको भनाई थियो । गोर्खा भर्ती खुलाउनेबारे भारतसँग कूटनीतिक पहल पनि नभएको उनको भनाई छ ।

भारतमा सैन्य भर्ती सम्बन्धी कानूनमा परिवर्तन भएपछि गतवर्षको साउनबाट नेपालबाट गोर्खा सैनिक भर्ती रोकिएको छ । नेपालले भारतको अग्निपथ योजना अनुसार गोर्खा भर्तीमा अहसमति जनाएपछि रोकिएको हो । नेपालको सहमति नभएसम्म गोर्खा भर्ती खुल्दैन ।

नेपालले पुरानै कानून अनुसार गोर्खा भर्ती गरिनुपर्ने अडान राखेको छ । अग्निपथ योजना अनुसार भर्ना लिइएका मध्ये २५ प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अरुलाई निश्चित रकम दिएर घर फिर्ता पठाइने नीति भारत सरकारले अवलम्बन गरेको छ ।

गोर्खा सैनिक भर्ती गर्दा नेपालबाट ६० र बाँकी भारतबाट छनोट गरिन्छ । यो भर्ती नेपाल र भारतबीचको विशिष्ट सम्बन्धका रुपमा पनि हेरिन्छ ।

नेपालबाट हरेक वर्ष हजारौं युवाहरु भारतीय गोर्खा सैनिकमा भर्ती हुने आशामा तयारी गर्छन् । भर्ती स्थगित भएपछि उनीहरु निराश छन् । रोकिएको अवधिभित्र तीनपटक गोर्खा सैनिक भर्ती भइसक्नुपर्दथ्यो ।

प्रतिक्रिया