८ कार्तिक २०८३, शनिबार | October 24, 2026

स्वर्णिम वाग्लेको अभिव्यक्तिमा थापाको प्रहार : ‘नेपाली राष्ट्रियताको अवमूल्यन, सरकारको धारणा यही हो ?’


October 24, 2026
83
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धबारे दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यन भन्दै सरकारको आधिकारिक धारणा माग गरेका छन्।

थापाले भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको भन्ने वाग्लेको तर्कलाई गैरजिम्मेवार संज्ञा दिएका छन्। नेपालको राष्ट्रवाद कुनै देशको विरोधमा नभई राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा भारतसँग असहमति जनाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको उल्लेख गरेका छन्।

नेपालले भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध चाहेको स्पष्ट पार्दै उनले केही सीमित धारणाका आधारमा सिंगो नेपाली समाजको राष्ट्रिय भावनालाई संकुचित रूपमा व्याख्या गर्न नहुने बताएका छन्।

थापाले वाग्लेको अभिव्यक्ति विगतमा उनले अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’ सँग सम्बन्धित छ कि छैन भन्ने प्रश्नसमेत उठाएका छन्। राष्ट्रिय सरोकारका विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ।

‘के सरकारको धारणा यही हो ?’ भन्दै थापाले वाग्लेको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत विचार भन्ने विषयमा समेत प्रश्न उठाएका छन्।

 

प्रतिक्रिया