गोविन्द भट्टराई को हुन्, जो कांग्रेस उपसभापतिमा भिड्दैछन् ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता गोविन्द भट्टराईले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेविसंघको नेतृत्वबाट पार्टी राजनीतिमा उदाएका भट्टराईले विभिन्न तहबाट आएको सुझाव र आग्रहपछि उपसभापतिमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।
भट्टराई कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन्। उनी २०५३ देखि २०५७ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका भट्टराई त्यसपछि पार्टीको केन्द्रीय राजनीतिमा स्थापित भएका हुन्।
तनहुँमा उनलाई खानेपानी योजनासँग जोडेर चिन्नेहरू पनि छन्। उनी प्रतिनिधिसभा सदस्य नभएको अवस्थामा समेत जिल्लाका विभिन्न ग्रामीण बस्तीमा खानेपानीका योजना ल्याउन भूमिका खेलेको कांग्रेस नेताहरूको दाबी छ। यही कारण उनलाई तनहुँमा ‘पानी मान्छे’ भनेर चिनिन्छन् ।
भट्टराईको राजनीतिक यात्रा भने विद्यार्थी आन्दोलनबाटै सुरु भएको थियो। नेविसंघमा सक्रिय हुँदै नेतृत्वमा पुगेका उनले त्यसक्रममा पार्टीको नयाँ पुस्तासँग पनि काम गरेका थिए। नेविसंघबाट कांग्रेसको केन्द्रीय राजनीतिमा आएका नेताहरूको सूचीमा उनको नाम लामो समयदेखि रहँदै आएको छ।
२०७७ सालमा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। त्यसपछि उनी पार्टीको केन्द्रीय राजनीतिमा थप सक्रिय बने।
हाल कांग्रेसका सभापति गगन थापा, केन्द्रीय नेताहरु गुुरुराज घिमिरे, किशोर सिंह राठौर, रन्जित कर्ण, प्रदिप पौडेल, उमेजजंश रायमाझी, रेशम बानिया, उमाकान्त चौधरी लगायतका थुप्रै नेताहरु उनकै छहारीमै हुर्केबढेका हुन् । ती युवा नेताहरु अगाडी बढेपनि भट्टराई भने हालसम्म कुनै पनि उच्च पदमा पुगेका छैनन् ।
२०८० सालको तनहुँ–१ उपनिर्वाचनमा कांग्रेसले उनलाई उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग पराजित भएका थिए।
अब भने भट्टराईको राजनीतिक यात्राले अर्को मोड लिएको छ। कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीको नेतृत्व तहमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
नेविसंघको नेतृत्वदेखि कांग्रेसको केन्द्रीय राजनीतिसम्मको अनुभवलाई आधार बनाएका भट्टराईले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन नेतृत्वदायी भूमिकामा आउन आफूलाई विभिन्न तहबाट सुझाव आएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि सुरु भएको छ। उपसभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ताको प्रक्रिया महाधिवेशनको कार्यतालिकाअनुसार अघि बढ्दैछ।


