मध्यपूर्वबाट कांग्रेस केन्द्रीय सदस्यमा पुरुषोत्तम खनालको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा पुरुषोत्तम खनालले उम्मेदवारी दिने भएका छन्।
नेपाली जनसम्पर्क समिति, साउदी अरबका संस्थापक खनालले प्रवासमा रहेका नेपालीका समस्या, अधिकार र सुरक्षाका सवाललाई कांग्रेसको केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनले पहिलोपटक प्रवासका लागि केन्द्रीय सदस्यको कोटा छुट्याएको छ। सोही व्यवस्थाअन्तर्गत मध्यपूर्व क्षेत्रबाट आफूले उम्मेदवारी दिन लागेको खनालले बताए।
‘प्रवासमा कार्यरत नेपालीको हित र सुरक्षाका लागि हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौँ। कांग्रेसले पहिलोपटक प्रवासबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने अवसर दिएको छ,’ खनालले भने, ‘यो अवसरलाई खाडीमा रहेका नेपालीको आवाज पार्टीको नीति निर्माणको तहसम्म पुर्याउने जिम्मेवारीका रूपमा लिएको छु।’
झन्डै दुई दशकदेखि साउदी अरबमा कार्यरत खनाल २०५१ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन्। उनले प्रवासमा कांग्रेसको संगठन विस्तारसँगै नेपाली श्रमिकका समस्या र अधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
मध्यपूर्वमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। रोजगारीका क्रममा उनीहरूले भोग्दै आएका श्रम अधिकार, पारिश्रमिक, सामाजिक सुरक्षा, स्वास्थ्य, बीमा, कानुनी सहायता तथा आपतकालीन उद्धारजस्ता विषयलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने खनालको धारणा छ।
‘मध्यपूर्वमा पसिना बगाइरहेका नेपाली नेपालको अर्थतन्त्रका महत्वपूर्ण हिस्सेदार हुन्। उनीहरूका समस्या सम्बोधन गर्न राजनीतिक तहबाटै प्रभावकारी पहल आवश्यक छ,’ उनले भने।
खनालले आफू निर्वाचित भए प्रवासी नेपालीका मुद्दालाई कांग्रेसको नीति तथा कार्यक्रमसँग जोड्दै मध्यपूर्वमा रहेका नेपालीको हकहित, सुरक्षा र सम्मानजनक श्रम वातावरणका लागि आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।



