१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

ऋषि कोइरालाको पहलपछि सर्भेयरलाई रोटेसनमा काम दिने व्यवस्था लागू


October 1, 2026
498
Shares

काठमाडौं । इन्जिनियर ऋषि कोइरालाको लामो समयदेखिको पहलपछि बीमा सर्भेयरहरूलाई रोटेसन प्रणालीमार्फत काम उपलब्ध गराउने व्यवस्था लागू भएको छ।

हाल नेपाल बीमा सर्भेयर संघका अध्यक्ष रहेका कोइराला नेपाल भ्यालुएर एसोसिएसनको अध्यक्ष रहँदादेखि नै सम्बन्धित क्षेत्रका पेशागत समस्यामा सक्रिय रहँदै आएका थिए। बैंकहरूसँग गरिने सम्झौता, भ्यालुएरलाई बैंकबाट उपलब्ध हुने काममा रोटेसन प्रणाली लागू गर्ने विषय तथा पेशागत समस्या समाधानका लागि उनले निरन्तर पहल गर्दै आएका थिए।

कुनै भ्यालुएरमाथि समस्या पर्दा सम्बन्धित निकायसँग प्रत्यक्ष संवाद र समन्वय गर्दै समाधानका लागि अग्रसर हुने व्यक्तिका रूपमा समेत कोइरालाको भूमिका रहँदै आएको थियो।

नेपाल बीमा सर्भेयर संघको नेतृत्वमा पुगेपछि पनि कोइरालाले सर्भेयर पेशालाई व्यवस्थित बनाउने र सबै सर्भेयरले समान रूपमा काम पाउने वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखे। त्यसक्रममा उनले सर्भेयरलाई काम उपलब्ध गराउने प्रणालीमा सुधार तथा रोटेसनको व्यवस्था लागू गर्न निरन्तर पहल गर्दै आएका थिए।

निरन्तरको पहल र प्रयासपछि प्रधानमन्त्री कार्यालयको समेत पहलमा सर्भेयरहरूलाई रोटेसन प्रणालीमार्फत काम उपलब्ध गराउने व्यवस्था लागू भएको बताइएको छ।

कुनै पनि क्षेत्रमा नीतिगत परिवर्तन तत्काल सम्भव हुँदैन। त्यसका लागि लामो समयसम्म निरन्तर आवाज उठाउने, सम्बन्धित निकायसँग संवाद गर्ने र विषयलाई नीतिगत तहसम्म पुर्‍याउने आवश्यकता हुन्छ। सर्भेयरको काममा रोटेसन प्रणाली लागू हुनु पनि लामो समयदेखिको त्यही पहल र प्रयासको परिणामका रूपमा हेरिएको छ।

सर्भेयरहरूको पेशागत हित र समान अवसरका लागि निरन्तर पहल गरेको भन्दै इन्जिनियर ऋषि कोइरालाको भूमिकालाई यस क्षेत्रका सरोकारवालाले महत्वपूर्ण मानेका छन्।

प्रतिक्रिया