१४ आश्विन २०८३, बुधबार | September 30, 2026

उपचारका क्रममा १४ वर्षीया दीपिकाको मृत्यु, बीपी प्रतिष्ठानमा आफन्तको तोडफोड


September 30, 2026
83
Shares

धरान । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेका छन्।

धरान उपमहानगरपालिका–१५ की दीपिका पेट दुख्ने समस्या भएपछि मंगलबार बिहान साढे ७ बजे प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा मंगलबार राति साढे ८ बजे उनको मृत्यु भएको हो।

दीपिकाको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाउँदै प्रतिष्ठानको निर्देशक कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका थिए।

दीपिकाका दाजु भूपेन्द्र तामाङले बच्चा वार्डमा कार्यरत चिकित्सकको चरम लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

तर प्रतिष्ठानका प्रवक्ता प्रा।डा। शमशेर श्रेष्ठले भने दीपिकाको उपचार स्वास्थ्य प्रोटोकलअनुसार नै गरिएको दाबी गरेका छन्। उनका अनुसार चिकित्सकीय उपचारका कारण नभई बिरामीमा रहेको जटिल स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो।

प्रवक्ता श्रेष्ठका अनुसार उपचारका क्रममा दीपिकाको मुटुमा समेत समस्या देखिएको थियो। त्यसका कारण सिटी स्क्यान गर्नसमेत समस्या भएको उनले बताए। घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेर अघि बढ्ने प्रतिष्ठानले जनाएको छ।

तोडफोडपछि प्रतिष्ठान परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। त्यसपछि मृतकका आफन्त र प्रतिष्ठान प्रशासनबीच वार्ता भएको थियो। वार्तामा प्रतिष्ठानका निर्देशक इन्द्र लिम्बू, उपचारमा संलग्न चिकित्सक तथा नर्सलगायत सहभागी थिए।

वार्ताका क्रममा मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, दीपिकाको सम्पूर्ण उपचार खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने माग राखेका छन्।

त्यस्तै, तोडफोड तथा घटनामा संलग्न आफन्तमाथि कुनै कारबाही नगर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन्।

आफन्तका मागबारे प्रतिष्ठान प्रशासनका प्रमुख तथा सम्बन्धित पक्षसँग थप छलफल गर्ने सहमति भएको छ। यस विषयमा थप छलफल गर्न बुधबार दिउँसो २ः३० बजे पुनः वार्तामा बस्ने सहमतिपछि तत्कालका लागि छलफल टुंगिएको छ।

दीपिकाको मृत्युको वास्तविक कारण तथा उपचारमा चिकित्सकीय लापरबाही भए–नभएको विषय छानबिन समितिको प्रतिवेदनपछि मात्रै स्पष्ट हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया