३० श्रावण २०८३, शनिबार | August 15, 2026

देउवा पक्ष कांग्रेस विधान संशोधनको तयारी, विशेष महाधिवेशन बोलाउने प्रक्रिया थप स्पष्ट गरिँदै


August 15, 2026
498
Shares

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले राष्ट्रिय भेलामार्फत पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। विधान संशोधनका लागि वरिष्ठ अधिवक्तासमेत रहेका नेता रमेश लेखकको संयोजकत्वमा कानुन तथा विधान समिति गठन गरिएको छ।

समितिले पार्टीको सांगठनिक संरचना, सदस्यता प्रणाली, नेतृत्व विकास, समावेशिता, उम्मेदवार छनोट तथा महाधिवेशनसम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउने उद्देश्यले विभिन्न प्रस्ताव तयार पारेको छ।

विधान संशोधनको प्रस्तावमा विशेष महाधिवेशन बोलाउने प्रक्रियालाई समेत स्पष्ट र व्यवस्थित गर्ने तयारी गरिएको छ। समितिस्रोतका अनुसार केन्द्रीय कार्यसमितिको कार्यावधि सकिन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा त्यसभन्दा कम अवधि बाँकी रहेको अवस्थामा तथा पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

यस्तै, विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षर रुजु, प्रमाणीकरण तथा महाधिवेशन आयोजना गर्ने प्रक्रियासम्बन्धी छुट्टै कार्यविधि स्पष्ट रूपमा निर्धारण गर्ने तयारी छ।

समितिले पार्टीभित्र केन्द्रीय निर्वाचन प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव पनि अघि सारेको छ। त्यसैगरी पार्टीका विभिन्न तहमा निर्वाचित सभापति तथा पदाधिकारीविरुद्ध अविश्वास प्रस्तावसम्बन्धी व्यवस्थालाई समेत समयअनुकूल संशोधन गर्ने प्रस्ताव गरिएको छ।

केन्द्र, केन्द्रीय कार्यालय र केन्द्रीय कार्यसमितिको परिभाषालाई थप स्पष्ट पार्ने तथा पार्टीका विभिन्न तहमा रहेका अनुशासन समितिको संख्या, संरचना र अधिकारसम्बन्धी व्यवस्थामा समेत संशोधन गर्ने तयारी छ।

लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा विशेष योगदान पुर्‍याएका क्रियाशील सदस्यलाई सम्मानस्वरूप केन्द्रीय कार्यसमितिको निर्णयबाट मानार्थ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

रमेश लेखकको संयोजकत्वमा गठित कानुन तथा विधान समितिले तयार पारेका प्रस्तावमाथि छलफल गरी राष्ट्रिय भेलाबाट विधान संशोधन गर्ने देउवा समूहको तयारी छ। यससँगै कांग्रेसको सांगठनिक संरचना, नेतृत्व चयन र विशेष महाधिवेशनसम्बन्धी प्रक्रियामा महत्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया