२९ असार २०८३, सोमबार | July 13, 2026

रविले बालेनलाई भने– ‘सचिवालय परिपक्क बनाउनुहोस्’


83
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साह बीच आइतबार बुढानिलकण्ठस्थित निवासमा करिब चार घण्टा लामो घनिभूत छलफल भएको छ। छलफलमा देशको समसामयिक राजनीति, बढ्दो आत्मदाह र आत्महत्याका घटना, सुकुम्बासी समस्या, पार्टी महाधिवेशन र मनोनयन प्रक्रिया लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई सचिवालयलाई थप परिपक्क, चलायमान र भरपर्दो बनाउन सुझाव दिएका थिए। पछिल्ला घटनाक्रमबारे सचिवालयले दिएको जानकारी र त्यसको प्रभावकारिताबारे पनि लामिछानेले चासो व्यक्त गरेका थिए।

“सचिवालयमा आलाकाँचा मात्रै देखिए। विपक्षीहरूलाई मनोरञ्जन दिने बाहेक खासै उपलब्धि देखिएन। परिपक्कहरू नभएर हो कि ? अलि बलियो र भरपर्दो टिम बनाउनेतर्फ सोच्नुपर्‍यो प्रधानमन्त्रीज्यू,” स्रोतले लामिछानेको भनाइ उद्धृत गर्दै जनाएको छ।

प्रधानमन्त्री शाहले पनि आफूले यस विषयलाई मनन गरिरहेको र सचिवालयलाई थप सुदृढ बनाउनेबारे सोच्ने बताएका छन्।

सुकुम्बासी समस्या र गणेश नेपाली आत्मदाह प्रकरणमा पनि छलफल

लामिछानेले सुकुम्बासी व्यवस्थापनमा देखिएको गञ्जागोल, भद्रगोल र अपरिपक्क निर्णयप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। त्यस्तै गणेश नेपाली आत्मदाह प्रकरणमा महानगरलाई मात्र दोषी ठहर गर्न नहुने भन्दै सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्नुपर्ने धारणा राखिएको स्रोतले जनाएको छ।

जेनजी असन्तुष्टि र परिषद् गठनलाई पूर्णता दिन सुझाव

छलफलका क्रममा लामिछानेले जेनजी समूहहरूको सरकारप्रतिको असन्तुष्टिप्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले जेनजी परिषद् गठनलाई चाँडै पूर्णता दिनुपर्ने र जेनजी घाइते तथा सहिद परिवारका गुनासाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्।

“जेनजीहरू असन्तुष्ट देखिए प्रधानमन्त्रीज्यू। जेनजी परिषद् गठनलाई चाँडै पूर्णता दिनुपर्‍यो। जेनजी घाइते र सहिद परिवारको पनि गुनासो छ, त्यतातर्फ पनि ध्यान दिनुपर्‍यो,” स्रोतले लामिछानेको भनाइ उद्धृत गर्दै जनाएको छ।

महाधिवेशनपछि मनोनयन टुंग्याउन आग्रह

छलफलमा रास्वपाको हालै सम्पन्न महाधिवेशनपछि मनोनीत केन्द्रीय सदस्य र पदाधिकारीहरूको नाम चाँडै टुंग्याउनुपर्ने विषय पनि उठाइएको थियो। बालेन शाहले मनोनयनको मोडालिटीबारे चासो राखेपछि लामिछानेले यस विषयमा पछि थप छलफल गर्ने बताएका स्रोतले जनाएको छ।

यस भेटलाई दुई नेताबीचको राजनीतिक सम्बन्ध, संगठनात्मक तयारी र समसामयिक राष्ट्रिय मुद्दाहरूमा समन्वय तथा रणनीतिक छलफलका रूपमा हेरिएको छ।

प्रतिक्रिया