१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

झुण्डमा बाँडिएर होइन, एकीकृत भएर मात्रै जनताको मन जित्न सकिन्छः गगन थापा


0
Shares

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग जय नेपाल फाउण्डेसनका केन्द्रीय समिति तथा सबै प्रदेशका प्रदेश संयोजकहरूको संयुक्त टोलीले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार भेटघाट तथा छलफल गरेको छ।

लामो समयदेखि सँगै राजनीति गर्दै आएका सहकर्मीहरूबीच आगामी दिनमा पार्टी संगठनलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने, भावी कार्ययोजना कसरी निर्माण गर्ने तथा कार्यकर्ताको मनोबल कसरी उच्च बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ।

छलफलका क्रममा जय नेपाल फाउण्डेसनले सभापति थापासमक्ष विभिन्न महत्वपूर्ण सल्लाह तथा सुझाव प्रस्तुत गरेको थियो। फाउण्डेसनले जनताको तहबाट प्रश्न उठेका वा सार्वजनिक सञ्चार माध्यममा आचरणका हिसाबले नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।

त्यस्तै, सामाजिक न्याय र समान अवसरका आधारमा पार्टीभित्र अवसर व्यवस्थापन गरिनुपर्ने, पटक–पटक ढाल बनेर पार्टी जोगाउने कार्यकर्ताको सम्मान हुनुपर्ने तथा कार्यकर्ता र जनताका गुनासा तथा सुझाव सुन्ने र ग्रहण गर्ने स्पष्ट संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

फाउण्डेसनले सिमान्तकृत क्षेत्र, वर्ग र समुदायको प्रगति सुनिश्चित गर्दै राज्यका साधन, स्रोत, सेवा र सुविधामा जनताको समान हक स्थापित गर्नुपर्ने धारणा पनि राखेको छ। साथै सार्वजनिक सेवा प्रवाहलाई नतिजामुखी, विश्वसनीय र जनताप्रति समर्पित बनाउन प्रशासन संयन्त्र सुधार गर्नुपर्ने सुझाव दिइएको छ।

भ्रष्टाचार, अनियमितता तथा असंवैधानिक गतिविधिको अन्त्य गर्दै मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति हुनुपर्ने विषय पनि फाउण्डेसनले उठाएको जनाएको छ।

फाउण्डेसनले राखेका सुझावप्रति सभापति थापाले गम्भीर चासो व्यक्त गर्दै वर्तमान अवस्थामा नेपाली कांग्रेसको काँधमा देश र जनताप्रति ठूलो जिम्मेवारी रहेको बताएका छन्।

उनले अब पार्टी संगठित र संयमित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै असहिष्णु राजनीति त्याग्नुपर्ने बताएका छन्। पार्टीभित्र सहअस्तित्व, सामाजिक न्याय र समान अवसरका लागि ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

सभापति थापाले “एकीकृत पार्टी नै जनतामाझ अलोकप्रिय हुँदै गएको अवस्थामा झुण्ड–झुण्डमा बाँडिएर जनताको मन जित्न सकिन्छ भन्ने सोच मनगढन्ते मात्रै हो” भन्दै गुटगत राजनीति अन्त्य गर्नुपर्ने संकेत दिएका छन्।

त्यस्तै, जय नेपाल फाउण्डेसनको वैचारिक यात्रालाई पार्टीगत आवद्धताका आधार तय गरेर संस्थागत रूपमा अगाडि बढाउने तथा समन्वयात्मक सहकार्यका लागि छुट्टै संयन्त्र निर्माण गर्ने विषयमा पनि सकारात्मक धारणा व्यक्त गरिएको बताइएको छ।

प्रतिक्रिया