२१ चैत्र २०८२, शनिबार | April 4, 2026

विश्व संकटको छायाँ नेपालमा : नीति बनाउने की प्रतिशोधमा अल्झिने ?


3k
Shares

काठमाडौं, १७ चैत्र । समाजसेवी तथा व्यवसायी संन्जिब गुरुङले विश्वभर बढ्दै गएको द्वन्द्व र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा देखिन थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार अहिले विश्व युद्धको जस्तो अवस्थाबाट गुज्रिरहेको छ, जसको असर साना राष्ट्रहरूमा झन् बढी परेको छ।

उनले रूस–युक्रेन युद्ध, इजरायल–इरान तनाव, र अमेरिकाको संलग्नतासहितका घटनाक्रमले विश्व अर्थतन्त्र र विशेषगरी गल्फ क्षेत्रलाई अस्थिर बनाएको बताए। साथै, अफ्रिकाका विभिन्न मुलुकहरूमा आन्तरिक द्वन्द्व जारी रहँदा विश्व शान्ति थप संकटमा परेको उनको भनाइ छ।

गुरुङका अनुसार यी अन्तर्राष्ट्रिय घटनाक्रमको प्रभाव नेपालमा प्रत्यक्ष देखिन थालेको छ। ग्यास तथा इन्धन अभाव दिनप्रतिदिन बढ्दो क्रममा छ भने मूल्यवृद्धिले सर्वसाधारणको आर्थिक भार झनै बढाएको छ।

अझ ठूलो चिन्ताको विषय भनेको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था रहेको उनले बताए। साउदी अरेबिया, कतार, दुबई, बहराइन, ओमान, इराक र इजरायलजस्ता देशहरूमा कार्यरत लाखौं नेपाली श्रमिकहरू असुरक्षाको अवस्थामा रहेको उल्लेख गर्दै उनले रेमिट्यान्समा समेत गिरावट आउन सक्ने चेतावनी दिए।

यस्तो जटिल परिस्थितिमा नेपालभित्र भने राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र प्रतिशोधको राजनीति बढ्दै गएकोप्रति उनले असन्तुष्टि जनाए। “देशमा नयाँ शक्ति, नयाँ सोच र नयाँ सरकारको कुरा भइरहँदा वास्तविक समस्यातर्फ ध्यान नदिई एकअर्कालाई खेद्ने प्रवृत्ति देखिन्छ,” उनले भने।

उनले सरकारलाई समयमै सचेत भई विश्व परिवेशबाट उत्पन्न संकटलाई विश्लेषण गर्दै नेपालमा त्यसको असर न्यूनीकरण गर्न ठोस नीति निर्माण गर्न आग्रह गरेका छन्। “अब प्राथमिकता राजनीतिक लडाइँ होइन, राष्ट्रिय संकट व्यवस्थापन हुनुपर्छ,” उनले जोड दिए।

विशेषज्ञहरूका अनुसार पनि विश्व संकटको प्रभावबाट जोगिन नेपालले तत्काल ऊर्जा आपूर्ति, मूल्य नियन्त्रण, र वैदेशिक रोजगार सुरक्षामा केन्द्रित नीति ल्याउन आवश्यक देखिन्छ।

प्रतिक्रिया