८ चैत्र २०८२, आइतबार | March 22, 2026

घुसको पैसा रिसोर्टका कर्मचारीको नाममा,अर्कैको नाममा जग्गा — सहसचिवविरुद्ध मुद्दा


1.7k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारका सहसचिव तथा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी ७० लाख रुपैयाँ घुस काण्डमा तानिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै अधिकारीले राजस्व छलीसम्बन्धी उजुरी मिलाइदिने नाममा घुस लिएको दाबी गरेको हो।

आयोगका अनुसार अधिकारीले घुस रकम सिधै नलिई विभिन्न तरिका अपनाएर लिने प्रयास गरेका थिए। एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग लिएको रकम उनले पोखरास्थित कुटी रिसोर्टका कर्मचारीको नाममा चेक काट्न लगाएका थिए। उक्त रिसोर्टका सञ्चालक देवेन्द्र केसी अधिकारीका निकट व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ।

अख्तियारका अनुसार ७० लाख रुपैयाँमध्ये २० लाख रुपैयाँ रिसोर्टको ऋण तिर्न प्रयोग गरिएको थियो भने बाँकी ५० लाख रुपैयाँले भक्तपुरको दिव्यश्वरी क्षेत्रमा पाँच आना जग्गा खरिद गरिएको थियो। उक्त जग्गा भने अधिकारीले आफ्नै नाममा नभई नेपालगञ्जका रवीन्द्र लामिछानेको नाममा किनेको पाइएको छ।

अनुसन्धानका क्रममा घुस रकम लुकाउन र वैध देखाउन अधिकारीले विभिन्न उपाय अपनाएको आयोगको दाबी छ। यही कारण उनीविरुद्ध भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोप पनि लगाइएको छ।

यस प्रकरणमा अधिकारीसँगै देवेन्द्र केसी र रवीन्द्र लामिछानेविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

हाल बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत अधिकारी विगतमा सुन तस्करी र भिजिट भिसा प्रकरणजस्ता विवादास्पद घटनामा समेत जोडिएको बताइन्छ।

प्रतिक्रिया