प्रेमकुमार राईको राजीनामा नमागौं, सम्मान गरौं: विश्लेषक रायमाझी

काठमाडौं,२० असोज । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई भ्रष्टहरूलाई कारबाही गर्न अग्रसर भइरहको बताएका छन् ।
देशको हितमा अहोरात्र खटिरहेका अख्तियार प्रमुख राईलाई राजीनामा दिन दबाब नदिएर उल्टै सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
८ वटा जेनजी मुभमेन्ट एलायन्सले अख्तियारका प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तको तत्काल राजीनामा दिनुपर्ने माग गर्दै संयुक्त बिज्ञप्ति जारी गरेका छन् ।
नयाँ पुस्ता (जेनजी)ले राईलाई राजीनामा दिन दबाब दिएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै रायमाझीले लेखेका छन्, ‘देशको हितमा अहोरात्रखट्ने अख्तियार प्रमुख इमान्दार देशभक्तलाई हामीले सम्मान गर्नुपर्ने हो तर उनीलाई नै राजीनामा गर भनेर दबाब दिनु भनेको जेन्जीले यथार्थ नबुझेको विषय हो ।’
पतञ्जलीको विषयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता मोहन बस्नेत आदिलाई मुद्दा चलाउनु सामान्य नभएको भन्दै उनले देशभक्त कर्मचारीहरुलाई खोजी खोजी साथ दिनुपर्ने बताए ।
‘मैले कहीँ कतै न्याय नपाउँदा उहाँले न्याय दिनुभएको छ। हरेकको समस्यालाई सुन्ने बुझ्ने उहाँप्रति हाम्रो सम्मान छ। साथ छ।’–उनले लेखेका छन् ।