‘पूर्वराजाका संवाद सचिव पाठकलाई सोधपुछ गर्नु संवैधानिक अधिकारको ठाडो उल्लङ्घन’

काठमाडौं,२८ असार । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले पूर्व राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेर मौलिक हक र संवैधानिक अधिकारको ठाडो उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
शनिबार एक विज्ञप्ती जारी गर्दै ओली नेतृत्वको कायर सरकारको दबाबमा प्रहरीमा पाठकलाई सोधपुछ गरेको उनको भनाइ छ ।
“राजाका संवादबाट सचिव फणिराज पाठकले विज्ञप्ति जारी गर्दा श्री ५ भन्ने शब्दले सम्बोधन गर्यो भन्ने विषयलाई लिएर ओली नेतृत्वको कायर सरकारको दबाबमा प्रहरीमा सोधपुछ गराउनु भनेको मौलिक हक र संवैधानिक अधिकारको ठाडो उल्लङ्घन होइन??”–उनले विज्ञप्तीमा लेखेका छन् ।
देशका पछिल्ला घटनाहरुले राज्य अस्थिर रहेको सहजै अनुमान गर्न सकिने समेत उनले उल्लेख गरेका छन् । शान्त भएर बसेका राजालाई सरकारले चुनौती दिएर करोडौं नेपाली जनताको भावनामा ठेस पुर्याएको पनि उनको भनाइ छ ।
रायमाझीले अगाडी लेखेका छन्, “कहिले पनि संविधान अकाट्य हुँदैन। परिवर्तन शील हुन्छ। आवश्यकता अनुसार परिवर्तन हुन्छ। यति सामान्य ज्ञान नभएको दिवालियापनका व्यक्तिले सरकार चलाउँदा राज्य कति अस्थिर छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। देशभक्तिमा समर्पित भएका शान्त राजालाई चुनौती दिनु भनेको करोडौं नेपाली जनताको भावनामा ठेस पुर्याएको होइन??”
हत्या हिंसा र आतंकको बलमा सत्ता कब्जा गरेको आरोप लगाउँदै उनले ति व्यक्तिहरूले प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसाथ गर्न नसक्ने पनि टिप्पणी गरेका छन् ।
संसदिय व्यवस्थामा फरक विचार दृष्टिकोण राख्न पाइने भन्दै विश्लेषक रायमाझीले संविधान विरोधी गतिविधि भनेको के हो ? प्रतिप्रश्न गरेका छन् । “प्रत्येक व्यक्तिको फरकविचार दृष्टिकोण हुन सक्दैन संसदीय व्यवस्थामा?? हत्यारा आतंककारीहरुकोको जयकार मात्र गर्नुपर्ने?? वाक तथा प्रकाशन स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्ने ओली सरकारको कदमको भत्सना गर्दछु।”–उनले लेखेका छन् ।
सचिव पाठकमाथि ओली नेतृत्वको सरकारले गरेको सोधपुछलाई उनले राष्ट्रवादीहरूलाई कमजोर बनाउने प्रयत्नको रुपमा बुझ्नु पर्ने उनको तर्क छ ।
गलत उद्देश्यबाट दलीय नेताहरूको निर्देशनलाई सरकारको आदेश ठानेर नमान्न पनि प्रहरीलाई सुझाव दिएका छन् । उनले अगाडी लेखेका छन्, “गलत उद्देश्यबाट दलीय नेताहरूको निर्देशनलाई सरकारको आदेश मान्ने होइन। यस्तो विषम अवस्थामा तटस्थ, निष्पक्ष प्रहरी संगठन भूमिका नागरिकले खोजेका हुन्छन्।”