इजरायलबाट सिक्नुपर्ने पाठ

डा. दीपेश केसीः विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई सन् १९५२ मा इजरायलको राष्ट्रपतिको प्रस्ताव गरियो । उनले आफू उक्त पदका लागि उपयुक्त नभएको भन्दै प्रस्तावका लागि धन्यवाद दिएका थिए । राजनीतिमा लागेपछि मानिसहरुसँग नियमित सम्पर्क गर्नुपर्ने, औपचारिक कार्यक्रममा सहभागी हुनुपर्ने हुन्छ । आइन्स्टाइनको स्वभाव त्योभन्दा ठिक विपरित थियो । उनले वैज्ञानिक अन्वेषणमै आफूलाई समर्पित गर्ने भन्दै पद अस्वीकार गरेका थिए । यहुदी राष्ट्र इजरायलको उक्त प्रस्ताव विश्वको जुनसुकै देशको नागरिक भएपनि यहुदी इजरायलको पनि हो र इजरायल यहुदीको हो भन्ने सन्देश थियो त्यो । इजरायलको नागरिकतासम्बन्धी कानूनमा सँसारको जुनसुकै देशको यहुदी इजरायलको नागरिक बन्न सक्छ । यहुदी राष्ट्रले सँसारभरका यहुदीलाई आफ्नो देख्छ र नागरिक बन्ने अवसर प्रदान गर्छ । यसरी इजरायल यहुदीको देशमात्र बनेको छैन उनीहरुलाई एकतावद्ध बनाउने थलो पनि बनेको छ । संगठित यहुदी शक्तिले विश्वमा विशेष प्रभाव बनाउनुको एउटा कारण पनि हो यो ।
यहुदीहरु वर्तमानमा मात्र नभई इतिहासको लामो कालखण्डयता बलियो रहे । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उनीहरु प्रभावशाली बने विश्व राजनीतिमा । जेसस क्राइष्ट प्रवर्तक रहेको इशाई धर्मले विश्वव्यापी प्रभाव बनायो । कार्ल माक्र्सको साम्यवादी विचारको प्रभाव विश्वको सबै कुनामा परेको छ । सिग्मन्ड फ्रायडको यौन मनोविज्ञान दर्शनको प्रभाव प्राज्ञिक जगत देखि साहित्यमा परेकै छ । आइन्स्टाइनको भौतिकशास्त्रका सिद्धान्तको प्रभाव विज्ञानमा मात्र सिमित छैन । आधुनिक विश्वमा नोआम चोम्स्कीजस्ता दर्शनशास्त्रीको प्राज्ञिक क्षेत्रमा विशेष प्रभाव छ । इमायल दुर्खिमले समाजशास्त्रीका रुपमा प्रकार्यवादी सिद्धान्तमार्फत् सामाजिक विज्ञानमा प्रभाव बनाउन सके । यी सबै यहुदी हुन् ।
आधुनिक विश्वमा यहुदीहरुको प्रभाव कति छ भन्ने अर्बपतिको संख्याबाट बुझ्न सकिन्छ । सन् २०२५ मा फोर्बसको सूचीमा रहेका विश्वका कुल दुई हजार ७ सय ८१ अर्बपति मध्ये यहुदीको संख्या २७० छ । तीमध्ये अमेरिकामा १६३ र इजरायलमा ३९ जना छन् । रुसमा २१, बेलायत, ब्राजिल र क्यानडा प्रत्येकमा ९ ९, फ्रान्समा ७ र अष्ट्रेलियामा ६ यहुदीहरु अर्बपति छन् । फेसबुकका संस्थापक मार्क जुकनवर्ग, गुगलका ल्यारी पेज, ओराकलका ल्यारी इलिसन, माइक्रोसफ्टका स्टिभ बाल्मर, ब्लुम्वर्ग एलपीका माइकल ब्लुमवर्ग जस्ता विश्वकै प्रभावशाली अर्बपति यहुदी हुन् । विश्वभर मिडियामार्फत् एजेन्डा स्थापित गर्दै आएका ओपन सोसाइटी फाउण्डेशनका संस्थापक जर्ज सोरस पनि यहुदी हुन् । भ्लादिमिर पुटिनसँग विशेष सम्बन्ध रहेका रुसी धनाढ्य रोमन अब्रामोभिच पनि यहुदी हुन् । उनी रुस, इजरायल र पोर्चुगल गरी तीन देशका नागरिक पनि हुन् । यहुदी शक्ति यसबाट पनि बुझ्न सकिन्छ ।
अमेरिका र इजरायलमा मात्र सिमित छैन यहुदीको प्रभाव । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र मेक्सिकोकी प्रथम महिला राष्ट्रपति क्लाउडिया सियनबाउम पनि यहुदी हुन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भित्री टिममा यहुदीहरुको संख्या उल्लेख्य छ । उनका ज्वाईँ जारेड कुसनर यहुदी हुन् । विश्वको कुना काप्चासम्म यहुदीको बलियो प्रभाव कतै न कतै कुनै न कुनै रुपमा भेटिन्छ । सँसारको कुल जनसंख्याको ०.२ प्रतिशत अर्थात् १ करोड ५८ लाख जनसंख्या मात्र भएपनि यहुदीले ८ अर्बको जनसंख्यामाथि प्रभाव बनाउन सकेको छ । आफूभन्दा सयौं गुणा बढी जनसंख्या भएका समुदायमाथि यहुदी किन हावी भइरहेछन् ? यसको रहस्यबारे गहिरो अनुसन्धानहरु भएका छन् । डा फारुख सलिमले विश्वका सबै मुस्लिम मिल्दा पनि यहुदीहरु सयौं गुणा शक्तिशाली रहेको तथ्य प्रस्तुत गरेका छन् । विश्वका प्रभावशाली चिन्तक, वैज्ञानिक देखि धनाढ्यहरु यहुदी नै रहेको उल्लेख गरेका छन् । डेढ करोड जनसंख्याको शक्तिले यहुदीहरु विश्वमै वर्चश्व स्थापित गर्न सक्नुमा डा. फारुखले एकै शब्दमा भनेका छन् शिक्षा । यहुदीहरु शिक्षामा अगाडि छन् । उनीहरुले लिने र दिने शिक्षा आफ्नो समुदायको हितमा केन्द्रित हुने खालको छ । विश्वका जुनसुकै कुनामा होउन् यहुदीले यहुदीको हित मात्र सोच्दैन सहयोगी पनि बन्छ । आफ्नो धर्म र संस्कृतिको रक्षालाई केन्द्रमा राख्छन् । यहुदीहरु शास्त्र र शस्त्र दुवै लिएर सँसारभर प्रभावशाली बन्न सकेका छन् । उनीहरु एकमात्र यहुदी राष्ट्र बनाउन सफल भए । त्यो राष्ट्रलाई आफ्नो ठानेर विपत्तिमा एकतावद्ध हुन सके ।
सँसारको एकमात्र यहुदी राष्ट्र हो इजरायल । सन् १९४८ मा अरब इजरायल युद्धपछि बनेको यहुदी राष्ट्रको बलियो प्रभाव छ विश्व राजनीतिमा । चारैतिर भिन्न धर्म र समुदायका देशहरुले घेरिएर पनि यहुदी राष्ट्रले विश्व राजनीतिमा कसरी बलियो प्रभाव जमाउन सक्यो त ? यसको प्रमुख कारणमध्ये एक हो त्यहाँको शिक्षा । इजरायलको शिक्षा यहुदीहरुलाई जोड्न र देशभक्त बन्न प्रेरित गर्ने खालको छ । हरेक नागरिक आफैमा देशका लागि मरिमेट्ने सैनिक हो भन्ने भावना जगाउने खालको छ । अनिवार्य सैनिक तालिम लिनुपर्ने बनाइएको छ । इजरायलको शिक्षा अत्याधुनिक प्रविधिको विकास गर्दै त्यस अनुकूल सिंगो राष्ट्रलाई डो¥याउने खालको छ । नागरिकलाई माहुरी जस्तै परिश्रमी बनाएको छ । उसको प्रविधिको निर्यात विश्वका धेरै देशमा भएका छन् । इजरायलको अत्याधुनिक हतियार धेरै देशले खरिद गर्दछन् । त्यसमध्ये भारत सबैभन्दा अगाडि आउँछ । अमेरिका, बेलायत, फ्रान्स, दक्षिण कोरिया जस्ता विकसित देशहरुले समेत इजरायलको हतियार किन्छन् ।
इजरायलको जासुसी संयन्त्र निकै बलियो र प्रभावशाली छ । इरानमाथि हमलाका क्रममा सेनापति समेत मारिएको घटनामा इजरायलको जासूसी संयन्त्रले मुख्य भूमिका निभाएको थियो । हमासमाथिको हमला होस् या मध्यपूर्वमा ठूलो अपरेशन गर्दा नै किन नहोस् उसको जासुसी एजेन्सी मोसाद प्रभावशाली देखियो । इजरायलले १९७६ मा युगान्डाको एन्टेबे विमानस्थलमा आक्रमण गरी आतंकवादीले अपहरण गरेका विमान र यात्रुलाई उद्धार गरेर सँसारसामु आफ्नो सैन्य क्षमता प्रदर्शन गरेको थियो । उसको त्यो क्षमता अझ बढेको देखियो पछिल्ला लडाईँहरुमा । अत्याधुनिक हतियार त इजरायलसँग छँदैछ त्योभन्दा ठूलो शक्ति उसको दक्ष जनशक्ति हो । एकतावद्ध र देशभक्त इजरायलीहरु निर्माण हुनु अर्को सफलता हो उसको । सँसारभरका डेढ करोड यहुदीलाई इजरायली नागरिक सरह मान्नुले पनि अमेरिका, रुस, क्यानडा, बेलायत, फ्रान्सलगायत विश्वको जुनसुकै कुनाका यहुदीले पनि इजरायललाई आफ्नो देश जस्तै मानेका छन् । विपत्तिमा सघाएका छन् । संगठित समुदायमार्फत् इजरायलले विश्वभर आफ्नो प्रभाव बनाउन सकेको छ । यो उसको अर्को बलियो शक्ति हो ।
कुनैपनि देश बलियो हुन उसको जनशक्ति बलियो हुनुपर्छ । जनताबीच एकताको भाव हुनुपर्छ । गौरव गर्न लायक इतिहास हुनुपर्छ र इतिहास र पूर्खाप्रति भावी पुस्तालाई गौरव गर्न सक्ने सिकाउनुपर्छ । आफ्नो सभ्यता र संस्कृतिको रक्षाका लागि मरिमेट्ने नागरिक निर्माण हुनुपर्छ । विश्वको जुनसुकै कुनामा भएपनि एउटै समुदाय, सभ्यता र संस्कृति मान्नेहरुलाई जोड्ने तन्तुको विकास गर्नुपर्छ । इजरायलले त्यो तन्तुको विकास गरेको छ । जुन समाज आफैमा विभाजित छ त्यो समाज उभो लाग्न सक्दैन । जुन समाजले राष्ट्रको सीमालाई काटेर गएका समुदायलाई समेत जोड्न सकेको छ त्यो समाज सशक्त हुने भइहाल्यो । इजरायलबाट नेपाली समाजले सिक्ने मूल विषय यही हो । –दृष्टि साप्ताहिकमा प्रकाशित