ओली-देउवा मिलन टुट्नसक्ने, प्रचण्ड फेरि निर्णायक शक्ति बन्दै

काठमाडौं, ६ जेठ । नेकपा एमाले र नेपाली काँग्रेसबीचको सत्ता समिकरण संकटमा पर्दै गएको छ । गभर्नर नियुक्ति विवादले सत्ता संकट चुलिएसँगै नयाँ सम्भावना देखिनथालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच दुरी मात्र बढेको छैन खटपट चलेको छ । यही मौकामा माओवादी अध्यक्ष प्रचण्ड सक्रियता देखाउन थालेका छन् । प्रचण्ड सत्ता राजनीतिमा निर्णायक शक्ति बन्ने माहोल तयार हुने अवस्था निर्माण भएको छ ।
ओली र देउवाबीचको सहमति टुटेमा प्रचण्ड जोसँग मिल्नेछन् त्योसँग सत्ता गठबन्धन बन्नेछ । यी तीनमध्ये एक नै प्रधानमन्त्री बन्नेछन् । यसकारण प्रचण्ड निर्णायक शक्ति बन्ने देखिन्छ ।
ओली र प्रचण्ड मिलेमा रवि लामिछानेलाई पनि साथमा ल्याउनुपर्ने वाध्यता हुनसक्छ बहुमतका लागि । त्यो सम्भावना पनि देखिन्छ । देउवा र प्रचण्ड मिलेमा लामिछानेको दल रास्वपा नजान सक्छ सरकारमा ।
सत्ताको खेलमा धेरै विषयहरु गाँसिएर आएका छन् । ५२ जना संवैधानिक आयोगका नियुक्तिको २८ जेठमा हुने निर्णय र त्यसपछिको घटना मात्र नभई गभर्नर नियुक्ति पनि जोडिएको छ । महत्वपूर्ण पदहरु आफू अनुकूलकोलाई दिलाउन पनि ओली र देउवा लागिपरेका छन् । सत्ताबाहिर रहँदाको छटपटी प्रचण्डलाई छ । उनी राजनीतिक लेनदेन र भागवण्डामा सहमति गरेर कुनै एक शक्तिलाई साथ दिने रणनीतिमा देखिन्छन् ।