तीनकुने घटनामा प्रसाईं मात्र दोषी ?

प्रकाश रायमाझी । तीनकुने घटनामा पक्राउ परेकाहरूलाई राज्यले अनुसन्धानका नाममा पटकपटक म्याद थप्दै थुनामा राखिरहेको छ । के त्यो घटनाका दोषी दुर्गा प्रसाईं मात्र थिए त ? उनले आयोजना गरेको कार्यक्रममा तँछाड मछाड गर्दै पुगेर नेता बन्न हौसेकाहरुले त्यो घटनाको दोष प्रसाईंमाथि मात्र थोपरेर उन्मुक्ति पाइन्छ ? निष्पक्ष न्यायिक छानबिन समिति खडा गरेर छानबिनपछिको प्रतिवेदनका आधारमा कारबाही गरेको भए राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले पनि विश्वास गर्ने आधार हुन्थ्यो, घटनामा को दोषी थिए भनेर । यहाँ छानबिन आयोग किन पनि आवश्यक छ भने राज्यका तर्फबाट दमन गर्न र सहभागीलाई उत्तेजित बनाउन राज्यका संयन्त्र नियोजित ढंगले प्रयोग भएका यथेष्ट प्रमाण बाहिर आएका छन् । यस्तोमा एक पक्षलाई मात्र दोष लगाएर सरकार पानीमाथिको ओभानो बन्न सक्दैन । र, जो दोषी छ, उसैले अनुन्धान गर्नु न्यायिक सिद्धान्तको विरुद्धमा छ ।
आन्दोलनमा सहभागी नै नभएकालाई र बाटोमा हिँडिरहेकालाई गोली हान्ने, म्याद सकिएका विषाक्त रसायन राष्ट्रगान बजिरहेका बेला घरका छतबाट प्रहार गर्ने, आगो लागिरहेको घरमा मान्छे छ भन्दा सुरक्षा निकायबाटै त्यहाँ कोही नभएको अभिव्यक्ति आउने अनि प्रहरीका प्रमुख स्वयं सार्वजनिक कार्यक्रममा आएर दिउँसै रात पार्ने गरी झूट बोल्ने जस्ता अवाञ्छित गतिविधि भएका छन् । हो, आयोजकले आन्दोलनको रचनात्मक ढंगले नियन्त्रणमा लिन सक्नुपथ्र्यो । तर, के यो घटनामा मात्रै दुर्गा प्रसाई कारक हुन् त ? सरकारले घटनाको तथ्य किन लुकाएको ? के प्रशासनको आदेशबिना प्रहरीले मनोमानी ढंगले हजारौँ राउन्ड अश्रुग्यास र गोली चलाएको थियो त ?
राज्यशक्तिले फरक विचार र फरक धारलाई राष्ट्रहित विपरीतको मुद्दा चलाउनु नौलो कुरा होइन । धेरै पात्र आफूलाई नेताका रुपमा स्थापित गर्नका लागि तीनकुनेको मञ्चमा उपस्थित भएका थिए । तर, रवीन्द्र मिश्रको हकमा बन्दी प्रत्यक्षीकरणमा जाँदा त्यस घटनामा सँगै पक्राउ परेका अरूलाई न्याय भयो त ? राप्रपाको नेतृत्व पंक्तिमा उभ्याउन मिश्रलाई यो घटनाले योग्यता वृद्धि गरिदिएको छ । उनलाई राजनीति गर्नु थियो, उनलाई आफ्नो नाम परिचित गराउने मौका चाहिएको थियो । मिश्रले सशर्त रिहाइबाट त्यो मौका प्राप्त गरे । तर, अन्यको हकमा बन्दीप्रत्यक्षीकरण किन आवश्यक देखिएन ?
दुर्गा प्रसाईं राप्रपाका थिएनन् । तर, त्यो मञ्च दुर्गा प्रसाईंको थियो । नाम र जसको आश गर्नेले केही पाउँदा केही गुमाउनु पनि पर्छ ।
तीनकुनेको मञ्चमा आफ्नो नाम भनियोस् भनेर तँछाड मछाड गर्ने भीडले घटना अन्यत्र मोडिएपछि दुर्गा प्रसाईंलाई मात्र खलपात्र बनाउने आवस्था सिर्जना गरेका छन् । सबै आस्थाका बन्दीमाथि एउटै धारणा राप्रपाले किन बनाउन सकेन ? राप्रपाको पसल दुर्गा प्रसाईले बन्द गरिदिन्छ भनेर ? कि प्रसाईं बाहिर आए भने फेरि राप्रपाको पसल सुक्छ भनेर ? अन्यथा, फरक विचार राजनीतिमा राख्न पाइन्छ । मानव अधिकारलाई मौलिक हकको रुपमा संविधानमा समेत समावेश गरिएको छ । दुर्गाले मञ्च बनाए, त्यही भएर उनी यो सबै कसुरको भागीदार हुन् त ? तोडफोड, आगजनी मानवीय क्षतिजस्ता घटनाको केही जिम्मेवारी राज्यले लिने कि नलिने ? प्रसाईलाई मात्र बलीको बोको बनाएर सबैले आफ्नो स्वार्थ सिद्ध गर्ने ?
नागरिक समाजले यो विभेद र अन्यायलाई सहज रुपमा लिनु हुन्न । तीनकुने घटनामा पक्राउ परेका सबैको रिहाइ हुनुपर्छ । तारिखमा बसेर मुद्दा गर्ने प्रजातान्त्रिक एवं न्यायिक अधिकारको सुनिश्चितता गरिनुपर्छ । दलका नेतादेखि जनता वाक्क दिक्क भएर दलको विकल्पमा राष्ट्रवादीहरूले वैकल्पिक शक्तिको परिकल्पना भएको हो । कुनै पार्टी विशेषको स्वार्थपूर्तिका लागि मात्र जनता जुटेका होइनन् । प्रत्येक नेपाली यो अभियानमा जुट्छन्, राजसंस्थाको नेतृत्वमा जनता गोलबन्द हुन्छन् ।
राजा र हिन्दू राष्ट्रका नाममा पटकपटक पसल खोलेर आफ्नो व्यापार गर्न सफल भएका धूर्तहरुबाट राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापित हुनेमा जनता विश्वस्त छैनन् । राजसंस्थालाई हिजो के अप्ठ्यारो थियो, राष्ट्रवादीलाई कुन शक्तिले परास्त गरेको थियो भन्ने बुझेर पनि आफ्नो व्यक्तिगत नाफाको लागि पसल खोलेका तिनै कमल र लिङ्गदेनहरुले परिवर्तन ल्याउने कुरा देशभित्र वा देशबाहिरका कसैले पत्याउने अवस्था छैन । उनीहरूले अस्थिर राजनीतिको फाइदा उठाउन फेरि नाङ्लो पसल थापेका मात्रै हुन् । राजतन्त्रको विस्थापनदेखि गणतन्त्रको स्थापनामा सकुनीका रूपमा चिरपरिचित व्यक्तिको स्वार्थपूर्तिमा जनताको अभिमतलाई बिक्री गर्नेहरूदेखि जनता सावधान भइसकेका छन् । राजनीतिमा अवसरको खोजी हुन्छ तर विचारविहीन, आत्मकेन्द्रित र शासन सत्तामा मात्र पुग्ने चाहने व्यक्तिहरूबाट जनता फेरि ठगिने छैनन् । हामी राष्ट्रवादी हौँ । अहिलेको परिवर्तनकारी विचार कुनै दलका भातृ संगठन र तिनका कार्यकर्ताको होइन । सार्वभौम सत्ता सम्पन्न राष्ट्रको अखण्डताका लागि नेपालीले परिवर्तन खोजेका हुन् ।
(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।)