३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रेस स्वतन्त्रता लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो : प्रचण्ड


0
Shares

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको बताएका छन् । एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस, मई ३ (वैशाख २०) का अवसरमा शुभकामना सन्देश जारी गर्दै विज्ञापन बोर्डमार्फत् सरकारी विज्ञापनको समानुपातिक वितरणको पहल भइरहेको स्पष्ट पारेका हुन् ।

उनले जारी गरेको शुभकामना सन्देश

शुभकामना
विश्व प्रेस स्वतन्त्रता दिवस, मई ३ (वैशाख २०) का अवसरमा म सम्पूर्ण नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताका लागि विभिन्न आन्दोलन र संघर्षमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मई ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसकारूपमा मनाइँदै आइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको यस अवसरमा म सरकारको तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रतिवद्धता व्यक्त गर्दछु । नेपालको संविधानको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो । श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत् सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाहभत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी गराउँदछु ।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ । नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको छ । यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वर्धन एवं विकासका निम्ति यसको पुर्नसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको छ । साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्नसमेत म आग्रह गर्दछु ।

अन्त्यमा, प्रेस स्वतन्त्रता दिवसवाट राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, यही कामनासहित सबैमा पुनः हार्दिक बधाइ तथा शुभकामना ।

प्रतिक्रिया