१७ चैत्र २०८१, सोमबार | April 1, 2025

क्यानका डीजी प्रदीप अधिकारीले अरबौंको कमिशन कहाँ कसरी पुर्याए


747
Shares

नेपाली पेन खोज । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीले लाभको पदमा रहेर सबैभन्दा बढी गैरकानूनी धन आर्जन गर्ने रेकर्ड तोडेका छन् । उनले प्रमुख दलका नेता देखि शक्तिकेन्द्रलाई प्रभावमा पारेर पद हात पारेपछि गैरकानूनी धन आर्जन र व्यवस्थापन कसरी गरे भन्ने तथ्यहरु नेपाली पेनलाई प्राप्त भएको छ ।

अधिकारी प्राधिकरणको इन्जिनियरका रुपमा छिरेका थिए । शक्तिकेन्द्र रिझाउन जान्ने उनले तत्कालीन कार्यकारी निर्देशक सञ्जीव गौतमको विश्वास जितेर आकर्षक ठाउँमा जिम्मेवारी पाए । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको योजना निर्देशकको जिम्मेवारी पाए । त्यहाँबाट अकूत सम्पत्ति आर्जन गर्न थाले ।

दशौं अर्बको आयोजनाहरुमा उनले लागतभन्दा दश गुणा बढीमा ठेक्का निकालेर ठूलो धनराशी आर्जन गरेका थिए । ठेक्का आफू अनुकूलको कम्पनीलाई दिलाउन अधिकारीले दुई विश्वासपात्रलाई सक्रिय बनाए । जसमध्ये उनको नातेदार पर्ने दोलखा स्थायी घर भएर अमेरिका बस्दै आएका अर्जुन खड्का थिए ।

पूर्वप्रहरी अधिकृत खड्कालाई अमेरिकाबाट डाकेर अधिकारीले विचौलिया देखि कमिशन व्यवस्थापनको जिम्मा दिए । खड्का अमेरिका बस्ने भएकाले कसैले पत्तो नपाउने र रकम पनि विदेशमा व्यवस्थापन हुने भएकाले सक्रिय बनाएका थिए । कतिपय घूसको लेनदेन विदेशमै गरेर व्यवस्थापन गरे ।

ठेकेदार प्रकाश ढकाललाई अधिकारीले महत्वपूर्ण ठेक्का दिलाउने देखि ठूला आयोजनामा सेटिङ गर्ने जिम्मा दिए । अर्जुन र प्रकाश मिलेर प्रदीप अधिकारीको कमिशनको खेललाई सफल बनाउँदै लगे । यतिसम्मकी कमिशनबाट जोहो गरेको धन नेपालबाहिर व्यवस्थापन गरे । जसका कारण प्रदीपले कमाएको कमिशनको रकम पत्ता लगाउने छानविनमा बढेको निकायले पत्तो पाउन सकेको छैन ।
नेपाली पेनले अर्जुन खड्कासँग यसबारे सोध्दा आफू कमिशनको खेलमा संलग्न नभएको दाबी गरे । तर, अमेरिकाको नागरिक भइसकेको व्यक्ति कुन कानून टेकेर विचौलियाको शैलीमा कमिशन मिलाउन दौडधूप गरिरहेको भनी सोध्दा उनी जवाफ दिन नसक्ने भए । आफू बिरामी परेको भन्दै खड्का सम्पर्कविहिन भएका छन् ।

ठेकेदार प्रकाश ढकालले भने आफ्नो पछि किन लागेको भनी धम्कीयुक्त भाषा प्रयोग गरे । उनले प्रमाणसहित लेख्न चुनौती पनि दिए । नेपाली पेनले उनले नै योजनावद्ध तरिकाले ठेक्का पाउने गरेको र अनुकूलको कम्पनीलाई वर्षौंदेखि ठेक्का पार्दै आएको पत्ता लगाएको छ । पोखरामा डाँडाको माटो काट्न पनि उनै ढकालको कम्पनीले काम गर्दै आएकोमा करोडौंको घोटाला भएको पाइएको छ ।

शक्तिकेन्द्र यसरी रिझाउँछन् प्रदीप

२०६४ मा पृथ्वी सुब्बा गुरुङ मन्त्री हुँदा प्राधिकरणमा इञ्जिनियरका रुपमा प्रवेश गरेका थिए अधिकारी । उनले तत्कालीन कार्यकारी निर्देशक सञ्जीव गौतमलाई खुबै रिझाए । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीलाई पनि रिझाएर पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने योजना निर्देशक भएर गए । दशौं अर्बको आयोजनामा उनले अकूत सम्पत्ति आर्जन गरे । कमिशन नेता देखि उच्च कर्मचारीसम्म पुर्याउने भएकाले प्रदीप शक्तिकेन्द्रको प्रीय बने ।

प्रेम आले मन्त्री हुँदा प्रतापबाबु तिवारीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी भएको थियो । क्याबिनेटमा लान ठिक्का पारिएको थियो प्रस्ताव । तर, ललितपुरका कम्युनिस्ट नेताहरुको घर घर धाएर उनले प्रस्ताव रोक्न लगाए माधवकुमार नेपालमार्फत् । बेलुका ६ बजे क्याबिनेट बस्न लागेकोमा अपरान्ह ४ बजेतिर माधव नेपालले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरी आफ्नो दलको भागमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय परेकाले नियुक्ति आफूहरुले दिएको नामलाई नै गर्न भन्दै रोक्न लगाएका थिए ।

त्यसको केही महिनापछि प्रदीप अधिकारीलाई माधव नेपालले प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव आलेमार्फत् बढाएका थिए । प्रदीपले बाजी मारे ।

विश्वस्त स्रोतका अनुसार प्रदीपले दशौं करोड रुपैयाँ विभिन्न दलका शक्तिशाली नेताहरुलाई बाँड्दै आए । एउटा दलको त आधाजस्तो चुनाव खर्च नै अधिकारीले व्यहोरिदिए । ती सबै रकम लागत बढाएर ठेक्का पाएका भाग्यमानी ठेकेदारहरुबाट दिलाएका थिए ।

काँग्रेस सभापति शेरबादुर देउवा पत्नी आरजु राणा देखि रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र चितवने सांसद हरि ढकालसम्मलाई रिझाउन सफल भएका छन् अधिकारी । रवि लामिछाने पोखराबाट धरौटीमा रिहा हुँदा अधिकारी हरि ढकालसँग चितवनको एक होटलमा थिए । क्यानका उच्च अधिकारीहरुसँग हरि ढकालसँग रवि छुटेकोमा खुशियाली मनाउँदा उनको प्रभाव र चर्तुयाईबाट प्रभावित एक कर्मचारीले नेपाली पेनसँग भनेः हाम्रो डीजी सबैलाई खुशी पार्न र मिलाउन सिपालु ।

१८ लाख घनमिटर माटो फिलिङ गर्नुपर्दथ्यो बाहिरबाट ल्याएर तर ल्याइएन । अग्लोमा हुनुपर्ने रनवे टालटुल गरेर भ्रष्टाचार गरेको खुलासा गरेका छन् ।

कहाँ कति भ्रष्टाचार
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परियोजनाका तत्कालीन प्रमुख प्रदीप अधिकारीले ७ सय बिगा भन्दा बढी जग्गा खरिद गरेको खुलासा गरेका छन् । विमानस्थल निर्माणमा मात्र १० अर्बभन्दा बढी भ्रष्टाचार भएको आलेको भनाई छ ।

पोखरामा पाँच किलोमिटर टाढाबाट माटो ल्याएर फिलिङ गर्नुपर्नेमा गरिएको छैन । पोखरामा पूरा क्षमतामा जहाज उडान नमिल्ने भएको छ । अर्कोतर्फ, डाँडाको माटो काट्ने नाममा पनि ठूलो भ्रष्टाचार भएको छ ।

तीनवटा एयरपोर्टको इन्चार्ज हुँदा चाहिनेभन्दा बढी जग्गा खरिद गरेको पूर्वमन्त्री प्रेम आलेले नै खुलासा गरे । मुआब्जामा ठूलो चलखेल गर्न सडकमा नछोएको जग्गालाई रातारात कित्ताकाट गर्न लगाएर सडकमा छोएको देखाएर भ्रष्टाचार भएको आलेको भनाई छ ।

नेपाली पेनलाई प्रदीपले तीन अर्बभन्दा बढी धन संकलन गरेको तथ्य प्राप्त भएको छ । उनले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र पुनः निर्माणमा ठूलो भ्रष्टाचार गरेको देखिन्छ । ठेकेदार कम्पनीमार्फत् उनले विदेशमै विश्वासपात्रलाई कमिशन लिन लगाएको र विदेशमै लुकाएको पनि थाहा भएको छ । त्यसका लागि उनले अर्जुन खड्कालाई खटाएको विश्वस्त स्रोतले नेपाली पेनलाई जानकारी दिएको छ । त्यसबारे तथ्यहरु पनि प्राप्त भएका छन् । यसबारे थप जानकारी लिन खोज्दा खड्का सम्पर्कविहिन भएका छन् ।

क्यानका कार्यकारी निर्देशक प्रदीप अधिकारीसँग उनले अरबौं कमिशन जम्मा गरी देश भित्र र बाहिर समेत व्यवस्थापन गरेकोबारे बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । अधिकारीको मोबाइल नम्बरमा नेपाली पेनले पटक पटक सम्पर्क गरेको थियो ।

नागरिक उड्डयनका एमडी प्रदीपलाई ‘कालो धन’ लुकाउन सघाउने को को

प्रतिक्रिया