६ माघ २०८१, आइतबार | January 19, 2025

२०८२ सालको दशैं १० दिन छिटो,कुन–कुन चाड अघि सरे ?


January 19, 2025
498
Shares

काठमाडौं, ६ आइतबार। आउँदो वर्ष २०८२ सालको बडादशैं ९ दिनअघि सरेको छ । आगामी वर्ष दशैं असोजमै परेको छ । असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको घटस्थापना असोज १७ गते थियो। २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ। ०८२ सालको वर्षको दशैं असोजमै शुरू भएर सोही महिना सकिने छ।

२०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ। तिहारको धनतेरस कात्तिक १ गते परेको छ। कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। यो वर्ष पनि ककुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो।

४ गते गौपूजा, ५ गते म्हःपूजा, गोरुतिहार नेपाल संवत्को पहिलो दिन परेको छ। आगामी वर्ष कात्तिक ६ गते भाइटीका परेको छ। यस वर्ष कात्तिक १८ गते परेको थियो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रवार तिथिमितिसहितको पञ्चाङ्ग तय गरेको हो । तिथि जुराउन पञ्चाङ्ग पात्रो आवश्यक पर्छ।

विदेशमा रहेका नेपालीले नेपाल आउनका लागि समय तय गर्न, बिहे र व्रतबन्धको साइत जुराउन पञ्चाङ्ग पात्रोको बढी माग गर्ने गरेका छन्। सोही आधारमा समितिले तिथि निकालेको हो। यद्यपि, सार्वजनिक गरेको छैन।

समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले पात्रो तयारीका क्रममा रहेको बताउनुभयो। समितिले पात्रो तयार गरेपछि बिदा स्वीकृत गराउन भित्तेपात्रोको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। गएको वर्ष पुस पहिलो साता तिथिमिति सार्वजनिक गरेको थियो । आगामी वर्षका लागि माघ महिनाको पहिलो साता सकिँदा पनि पात्रो तयार भएको छैन।

आगामी वर्ष वैशाख १४ गते मातातीर्थ औंशी, १७ गते अक्षय तृतीया, २९ गते बुद्धजयन्ती, जेठ २२ गते गंगा दशहरा, २४ गते तुलसीको बिउ राख्ने एकादशी, असार २२ गते तुलसी रोप्ने एकादशी, २६ गते गुरुपूर्णिमा, असार २९ गते भानुजयन्ती, साउन ७ गते गठेमंगल घण्टाकर्ण, १३ गते नाग पञ्चमी, २४ गते जनैपूर्णिमा, २५ गते गाईजात्रा र ३२ गते श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ।

त्यसै गरी भदौ ७ गते कुसेऔंशी, ९ गते दरखाने, १० गते हरितालिका तीज, १२ गते ऋषिपञ्चमी, १५ गते गौरापर्व, भदौ २१ गते इन्द्रजात्रा, २३ गते सोह्रश्राद्ध, ३० गते थारूहरूको जितिया पर्व, असोज १ गते विश्वकर्मा पूजा र ५ गतेबाट सोह्रश्राद्ध समाप्ति परेको छ। गत वर्ष असोज १ गते इन्द्रजात्रा परेको थियो।

तिथिअनुसार कात्तिक १० गते छठपर्व, १५ गते हरिबोधिनी ९ठूली० एकादशी, मंसिर ३ गते बाला चतुर्दशी, सतबिज छर्ने, ९ गते सीता विवाह पञ्चमी, १८ गते धान्यपूर्णिमा उधौली पर्व रहेको छ। माघ ९ गते श्रीपञ्चमी, फागुन ३ गते महाशिवरात्री, १८ गते पहाड र १९ गते तराईमा होली पर्व परेको छ । चैत ५ गते घोडेजात्रा, १३ गते रामनवमी पर्व परेको छ।

आगामी वर्ष जेठ २९ गतेदेखि असार २२ गतेसम्म वृहस्पति अस्त र मंसिर २८ देखि माघ १५ गतेसम्म शुक्रअस्त रहनेछ। आगामी वर्ष व्रतबन्धको ८ र विवाहको ३७ वटा साइत रहेको छ । वैशाखमा ३, फागुनमा ३ र चैतमा २ वटा व्रतबन्धको साइत परेको छ। वैशाखमा १०, जेठमा ७, मंसिरमा ८, माघमा २ र फागुनमा १० दिन विवाहको साइत रहेको छ । आगामी वर्ष भदौ २२ गते खग्रास चन्द्रग्रहण र फागुन १९ गते खण्डग्रास चन्द्रग्रहण परेको छ । समितिले २०८१ सालमा प्रकाशन भएका १४ पञ्चाङ्ग र नयाँ तीनवटाले प्रकाशन अनुमतिका लागि निवेदन दिएको जनाएको छ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृतिबमोजिम पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० प्रकाशनको अनुमति दिँदै आएको छ। गठन आदेशबमोजिम समितिको स्वीकृतिबिना पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेन्डर० प्रकाशन गर्न पाइँदैन। समितिले पात्रो प्रकाशन गर्नुअघि स्वीकृत लिन सबैलाई आग्रह गरेको छ। स्वीकृतबिना प्रकाशन भएका पात्रोलाई कारबाही गर्ने समितिले जनाएको छ।

समितिले पञ्चाङ्गकार, विश्वविद्यालयका विज्ञ, ज्योतिषविज्ञलगायत सबैको राय र सुझावको आधारमा पात्रो तयार गरेको हो। तिथि र मिति विवादित नहोस् भन्ने उद्देश्यले व्यापक छलफल गरी पात्रो तयार गरेको समितिले जनाएको छ। २०८२ सालको पञ्चाङ्ग पात्रो माघ तेस्रो साताभित्र बजारमा आउने छ । समाचारपत्र

प्रतिक्रिया