पोषण भत्ताको लागि फारम भर्न वडाबासीलाई आग्रह
काठमाडौं,३ पुस । काठमाडौं महानगरपालिकाबाट जेष्ठ नागरिकहरु तथा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिने पोषण भत्ताका लागि फारम भर्न वडाबासीलाई काठमाडौं महानगरपालिका वडा न. १४ ले आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक रुपमा पोषणयुक्त खाना,सामाग्री,औषधी उपचारमा खर्च गर्नका लागि दिंदै आएको सो सुविधा लिन माघ मसान्तभित्र फारम भर्न सम्बन्धित सबैलाई वडा कार्यालयले आग्रह गरेको हो ।
महानगरले ‘महानगरबासीहरुको लागि पोषण भत्ता’ शीर्षकमा विनियोजित रकमबाट पोषण भत्ता वितरण गर्दै आएको छ । जेष्ठ नागरिक तथा पुर्ण अपाङ्गता भएका व्यक्तिहरुले मतदाता परिचयपत्र वा नागरिकताको आधारमा सो सुविधा लिन सक्नेछन् ।
जेष्ठ नागरिकको हकमा २०८१ असार मसान्तभित्र ७५ वर्ष पुरा भएको हुनुपर्नेछ भने काठमाडौं बाहिरका नागरिकले काठमाडौं महानगरभित्र स्थायी बसोबास गर्दै आएको भए बसाइसराईको प्रमाणपत्रको आधारमा पनि सो सुविधा लिन सक्नेछन् ।
त्यसैगरी, सामाजिक सुरक्षा भत्ता लिइरहेका ‘क’ वर्गको पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्रको प्रतिलिपिको आधारमा पोषण भत्ता पाउनेछन् । तर सरकारी निवृत्तभरण प्राप्त गर्नेको हकमा सो सुविधा पाइने छैन् ।