३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तातोपानी नाका वैशाख १८ बाट खुल्ने भएपनि खासासम्म नेपालीलाई अझै रोक


0
Shares

काठमाडौं, ५ वैशाख । चीनले तातोपानी नाकाबाट १८ वैशाखबाट नेपाली सामान प्रवेश अनुमति दिने भएपनि नेपालीलाई भने विना भीसा प्रवेश अझै रोक लगाउने नीति लिएको छ । उसले सामान ढुवानीका लागि मात्र सवारीलाई दुईतर्फी अनुमति दिने नीति लिएको छ ।

सोमवार नेपाली सुरक्षा अधिकारीसँगको वार्तापछि चिनियाँ टोलीले नेपालसँगको तातोपानी नाका ढुवानीका लागि मात्र दुईतर्फी खुलाउने सहमति गरेको हो । नेपाल र चीनबीचको सीमा सम्बन्धी बैठकमा ढुवानीका लागि मात्र दुईतर्फी रुपमा तातोपानी नाका खुलाउने सहमति भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख बालनरसिंह राणाले जानकारी दिए ।

‘नाका ढुवानीका लागि मात्र खुल्नेछ,’ राणाले भने । मानव आवतजावत भने अनुमति नहुने उनको भनाई छ । नेपालले चिनियाँ पक्षलाई तातोपानी नाका दुईतर्फी खोल्न पटक पटक आग्रह गर्दै आएको थियो ।

चीनले सीमा पार अपराध, कोभिड १९ को रोकथाममा आवश्यक सुरक्षालगायत विषयमा नेपाली पक्षबाट प्रत्याभूति होस् भन्ने चाहेको थियो ।

२०७२ सालको भूकम्पले क्षति पुगेपछि तातोपानी नाका बन्द हुँदै आएको थियो । पछि चीनले नेपालतर्फ सामान विक्री गर्ने गरी एकतर्फी खुलेपनि नेपालबाट उक्त नाका हुँदै चीनतर्फ निर्यात ठप्प थियो । त्यसअघि तातोपानी नाकाबाट खासातर्फ नेपालीहरु आवतजावत गर्न अनुमति थियो ।

नेपालका परराष्ट्र सचिव भरतराज गिरीले चैत्रमा बेइजिङमा आयोजित सचिवस्तरीय बैठकमा तातोपानी नाका खोल्नेबारे कुराकानी गरेका थिए । त्यतिबेला नाका खोल्न आवश्यक पूर्वाधार निर्माण बढाउने सहमति भएको थियो । चीनले पूर्वाधार निर्माणका क्रममा रहेको जानकारी दिएको छ । त्यसका लागि नाका केही दिन दुईतर्फी नै बन्द छ ।

प्रतिक्रिया