कांग्रेस महाधिवेशन : प्रतिपक्षी समूह सक्रिय,संस्थापनको छैन तयारी
काठमाडौं,५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको तीन वर्ष पुगेर चार लागेसँगै पार्टीको प्रतिपक्षी (शेखर) समूहका नेताहरूले अर्को महाधिवेशन केन्द्रित गतिविधिलाई तीव्रता दिन थाले पनि संस्थापन पक्ष मौन छ। संस्थापन पक्षले आगामी १५औं महाधिवेशन केही समयपछि धकेल्न सकिने सहुलियतलाई उपयोग गर्ने पक्षमा देखिएको हो।
तर, संस्थापनइतर समूहले महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय नै खोलेर १५औं महाधिवेशन अभियान चलाउन थालेका छन् । विधानतः कांग्रेसले नियमित महाधिवेशन गर्दा १५औं महाधिवेशनका लागि करिब १ वर्ष मात्रै बाँकी छ। विधानले एक वर्ष थप गर्ने सहुलियतसमेत दिएकाले संस्थापन पक्षले आवश्यक तयारीलाई आक्रमक नबनाएको नेतृत्वमाथि आरोप लाग्न थालेको छ।
महाधिवेशनको पूर्वतयारीअन्तर्गत विधान संशोधन, सदस्यता समस्या समाधानलगायत कामहरू प्रारम्भ नभएपछि नेता शेखर कोइरालाले समयमै महाधिवेशन हुने संशय व्यक्त गर्नुभएको छ। ‘०८२ को मंसिरमा महाधिवेशन हुनुपर्छ,’ डा। कोइरालाले भन्नुभयो– ‘पार्टीका क्रियाशील सदस्यको नवीकरण, टोल, वडा, क्षेत्र, जिल्ला र केन्द्रको अधिवेशन हुने हो। त्यसको लागि नै एक डेढ वर्ष लाग्छ। नवीकरणको सुरुवात भए पनि समस्याग्रस्त क्रियाशीलका विषयमा र अधिवेशनको अन्य प्रक्रियामा भने ढिलाइ भएको छ । कांग्रेसको महाधिवेशन जति ढिला भयो त्यति नै पार्टीलाई घाटा हुन्छ।’
गत फागुन ७ देखि १० सम्म गोदावरीमा भएको महासमिति बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको ०८२ मंसिरभित्रै १५औं महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेको थियो।
‘उक्त निर्णयलाई कार्यान्वयन गर्नका लागि पार्टीको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन हो’, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो– ‘पार्टीका महामन्त्री गगन थापको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता वितरण, नवीकरण, समस्या समाधानलगायतका काम गरिहरेको छ।’ विधानअनुसार महामन्त्री गगन थापको संयोजकत्वमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सम्मिलित समिति बनाइएको छ।
बिहीबार उक्त समितिको बैठकले पौष १८ गतेसम्म वडा, स्थानीय तह, क्षेत्र र जिल्ला तहमा देखिएका क्रियाशील विवाद समाधान गर्ने, अध्यावधिक हुन बाँकी रहेका सदस्यता अध्यावधिक गर्ने र थप समस्याका बारेमा देशभरको जानकारी लिइसक्ने निर्णय भएको समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिनुभयो।
पौष १८ गते समितिको अर्को बैठक राखेर यसबीचमा भएका प्रगति र बाँकी समस्याका सम्बन्धमा योजना बनाइने उहाँले बताउनुभयो । समयमै महाधिवेशन सम्पन्न गर्न महामन्त्री थापाले ०८१ साउनभित्र पार्टी विधान संशोधनका लागि सुझाव संकलन गर्ने, ०८१ असोजमा विधान महाधिवेशन गर्ने र ०८१ कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्ताव गरेका गर्नुभएको थियो। सो प्रस्तावसमेत केन्द्रीय समिति बैठकले पारित गरे पनि महामन्त्रीको प्रस्तावित विषयमा भएको निर्णयअनुसार कुनै पनि काम भएका छैनन्।
महाधिवेशन आउन अझै डेढ वर्ष समय रहेकाले अहिले नै महाधिवेशनको चर्चा गरेर हिँड्ने बेला नभएको संस्थापन पक्षका नेता एवं पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कांग्रेसमा महाधिवेशनको हल्ला गर्ने बेला भएको छैन। अहिले संगठन गर्ने, क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्ने काममा बेला भएकाले महाधिवेशन वैधानिक प्रक्रियाअनुसार हुन्छ, हतारिनुपर्ने अवस्था छैन ।’
महाधिवेशन समयमै गर्ने निर्णय भए पनि महाधिवेशनपूर्व गर्नुपर्ने संस्थागत संरचना निर्माणको काम नभएको शेखर कोइराला निकटका नेता गुरुराज घिमिरेले बताउनुभयो।
अनामनगरमा सम्पर्क कार्यालय राखेर महाधिवेशन केन्द्रित अभियान थाल्नुभएका घिमिरेले भन्नुभयो– ‘अहिलेको नेतृत्वले १५औं महाधिवेशनको तयारीका कामहरू प्रारम्भ नै नगरेकाले पार्टीभित्र प्रतिपक्षमा रहेका नेताहरूले दबाबस्वरूप महाधिवेशन केन्द्रीय अभियान चलाउन परेको हो। १४औं महाधिवेशनमा सभापतिका प्रमुख प्रत्यासी वरिष्ठ नेता डा। शेखर कोइरालामात्र नभई केन्द्रीय समितिमा भएका नेताहरूले समयमै महाधिवेशनको माग गर्नुपर्छ। नेतृत्वले गलत गर्दा टुलुटुलु हेर्ने पार्टीका इमानदार कार्यकर्ता हुन सक्दैनन् । हामी त्यही अभियानमा छौं।’
भर्खरमात्रै प्रारम्भ भएकाले क्रियाशील सदस्यतामा देखिएको देशभरिको समस्या समाधानमा अझै समय लम्बिने नेताहरूले बताएका छन् । तर, कांग्रेसमा सदस्यता व्यवस्थापन नै महाधिवेशनको प्रारूप भएकाले सदस्यता व्यवस्थापन समितिले अब द्रुत गतिमा काम गर्ने सदस्य प्रकाश स्नेहीको दाबी छ।
‘आगामी माघ महिनाभित्र सदस्यता विवादलाई टुंग्याउने र नयाँ सदस्यता वितरण तथा क्रियाशील नवीकरणको कामलाई गति दिएर आगामी असोजसम्ममा १५औं महाधिवेशनमा भाग लिने सदस्यहरूको सूची तयार गर्ने गरी लाग्ने योजना बनाएका छौं’ प्रकाश स्नेहीले नेपाल समाचारपत्रसँग भन्नुभयो।
विधानअनुसार चारवर्र्षे कार्यकाल रहने कांग्रेसको १४औं महाधिवेशन ०७८ मंसिरमा सम्पन्न गरेको थियो । विधानलाई आधार बनाएर एक वर्ष समय थप्न सक्ने व्यवस्था भएअनुसार ०८३ मंसिरमा महाधिवेशन गर्नैपर्ने वैधानिक बाध्यता छ । समाचारपत्रबाट