ओलीको तारोमा किन परे रवि र दुर्गा
काठमाडौं, २३ मंसिर । यतिबेला केपी शर्मा ओली देशको प्रधानमन्त्री छन् । यही कालमा उनका कुनैबेला निकट मानिएकाहरु रवि लामिछाने र दुर्गा प्रसाई प्रहरी हिरासतमा छन् । लामिछाने त हिरासतमा बसेको दुई महिना भइसक्यो । प्रसाई पनि झण्डै एक महिनायता हिरासतमा छन् ।
प्रहरीले अदालतबाट रविको थप ४ दिन र दुर्गाको ३ दिन हिरासतमा राख्ने अनुमति लिएको छ । यसरी नै उनीहरुमाथि हिरासतको बसाईँ लम्बिएको छ ।
रवि लामिछाने टेलिभिजन प्रस्तोता हुँदा ओलीबाट सिफारिश पाएर अवसर पाउनेमा पर्दछन् । उनी रास्वपा स्थापना गरी चुनाव जितेर आएपछि पनि ओलीसँग निकट रहे । ओलीकै साथ पाएर उपप्रधान तथा गृहमन्त्री बने । तर, काँग्रेससँग एमालेले गठबन्धन गरेपछि रवि पक्राउ गरिएका छन् सहकारी ठगी प्रकरणमा ।
रवि ओलीको तारोमा पर्नुमा पछिल्लो गठबन्धनलाई साथ नदिनु पनि हो । रविले प्रचण्डसँग हात मिलाएपछि ओली रुष्ट भए । त्यसपछि उनी कडा रुपमा प्रस्तुत हुँदै गए ।
दुर्गा प्रसाईँ त कुनैबेला ओलीकै साथ पाएर एमाले केन्द्रीय सदस्य नै बने । तर, उनी ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भए । ओलीको भण्डाफोर अभियान नै चलाए । यसकारण पनि उनी ओलीको तारोमा परेका छन् ।