प्रधानमन्त्रीको चीन भ्रमण : हात्ती आयो, फुस्सा
प्रकाश रायमाझी । बडो तामझामका साथ सुरु भएको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण । तर, यस भ्रमणले नेपाल–चीन सम्बन्धलाई सुदृढ पार्नुको साटो नेपालको कूटनीतिक कमजोरीलाई अझ उजागर गरिदियो । यस भ्रमणलाई नेपाली जनताले ठूलो अपेक्षाका साथ हेरेका थिए । तर, भ्रमणको सफलताले ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भन्ने स्थिति मात्रै पैदा गर्यो । प्रधानमन्त्रीको भ्रमणले नेपालको विकास र दीर्घकालीन साझेदारीका लागि ठोस परिणाम दिन सकेन ।
नेपाल र चीनबीच बेइजिङमा भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजनामध्ये केही स्वीकृत भए पनि धेरै महत्वपूर्ण परियोजना सूचीकृत हुन सकेनन् । नेपालले प्रस्ताव गरेका काठमाडौं–हेटौंडा पोडवे र काठमाडौं उपत्यकाका प्रसारण लाइन स्तरोन्नतिको योजनाजस्ता महत्वपूर्ण परियोजना सहमतिको सूचीमा अटाएनन् । यी परियोजना नेपालको आधारभूत पूर्वाधार विकासमा महत्त्वपूर्ण थिए । तर, यी योजना सूचीमा नपर्नु प्रधानमन्त्रीको कूटनीतिक असफलता हो ।
प्रधानमन्त्रीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हलजस्ता क्षेत्रीय स्वार्थका परियोजनालाई भने प्राथमिकता दिइयो । यस्तो मानसिकताले प्रधानमन्त्रीको भूमिका राष्ट्रिय नभई क्षेत्रीय भएको सन्देश दिएको छ । नेपालले चीनसँगको साझेदारीलाई व्यापक रूपमा प्रयोग गर्नुपर्नेमा, पार्टीगत र क्षेत्रीय स्वार्थले मात्र प्राथमिकता पाएको छ ।
चीनसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्न नेपालको नेतृत्वले आँखा जुधाएर समानस्तरमा छलफल गर्ने साहस देखाउनुपथ्र्यो । तर, यो भ्रमणमा प्रधानमन्त्री ओलीले आफूलाई भिखारी जसरी प्रस्तुत गरे । चीनसँगको सम्बन्धलाई आपसी सहकार्यको रूप दिनुपर्नेमा केवल हात फैलाउने प्रयासले राष्ट्रिय स्वाभिमानमै आँच पुग्ने किसिमको असमान कूटनीतिक सम्बन्ध दुई देशबीच रहेको सन्देश यो भ्रमणले दिएको छ ।
चीनसँग भएका सहमति र बीआरआई फ्रेमवर्कभित्र परेका परियोजनाहरू जस्तै टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, केरुङ–काठमाडौं सीमापार रेलमार्ग र रसुवागढी–चिलिमे प्रसारण लाइनजस्ता योजना नेपालका लागि सकारात्मक हो । तर, यी परियोजना व्यवहारिक रूपमा अगाडि बढ्न चीनको विश्वास जित्न सक्ने हाम्रो कूटनीति छैन ।
यस भ्रमणले नेपालको राजनीतिक अस्थिरता र पश्चिमाहरूको प्रभावका कारण चीनको विश्वास जित्न असफल भएको स्पष्ट देखिन्छ । नेपालले विगतमा पनि भारत र अमेरिकासँग निकटता कायम गर्दा चीनसँगको सम्बन्धलाई उपेक्षा गरेको इतिहास छ । अहिले पनि, प्रधानमन्त्री ओलीले चीनसँग समानस्तरीय साझेदारीको सट्टा, ‘सहयोग गर’ भन्ने भाषामा कुरा गरे । प्रधानमन्त्रीले यो भ्रमणलाई केवल आफ्नो क्षेत्रीय स्वार्थ पूरा गर्ने साधन बनाए । काठमाडौं–हेटौंडा पोडवेजस्तो महत्त्वाकांक्षी र व्यावहारिक परियोजना फ्रेमवर्कमा परेन भने प्रधानमन्त्रीको गृहजिल्ला झापाको स्पोर्ट्स कम्प्लेक्सलाई प्राथमिकता दिइनु कूटनीतिक त्रुटि हो ।
परराष्ट्र नीतिमा स्पष्टता र बलियो नेतृत्वको अभावले गर्दा नेपालको प्रतिष्ठा कमजोर भइरहेको छ । देशको प्रधानमन्त्रीले आफ्नो कार्यदक्षता देखाउन नसक्दा चीनजस्तो शक्तिशाली मुलुकले नेपालको राजनीतिक नेतृत्वलाई गम्भीर रूपमा नलिएको देखिन्छ ।
नेपालले बीआरआई परियोजनाहरूलाई सही ढंगले उपयोग गर्न सकेको भए देशको पूर्वाधार विकासमा ठूलो योगदान हुन सक्थ्यो । तर, नेतृत्वको असक्षमताले गर्दा कूटनीतिक अवसर गुमेको छ । अबको आवश्यकता भनेको आत्मसम्मानका साथ परराष्ट्र नीति सञ्चालन गर्नु हो । नेपाली जनताको आत्मसम्मान जोगाउने र केवल माग गर्ने होइन, सहकार्य गर्ने दृष्टिकोण ल्याउन नेतृत्वले सिक्नुपर्छ । खोक्रो प्रचार र असफल भ्रमणले देशको विकास सम्भव छैन । नेपाली जनताले परिणाममुखी कूटनीति चाहन्छन्, झूटो आश्वासन होइन ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)