१९ मंसिर २०८१, बुधबार | December 5, 2024

जनताले खोजेको देशभक्तहरुको एकतावद्ध नयाँ शक्ति


December 3, 2024
14.9k
Shares

हेमशंकर गिरीः २०४७ सालदेखि नेपाली कांग्रेस तथा एमाले र २०६३ पछि माओवादीलगायत तराईका केही क्षेत्रीय दलहरु हालसम्म नेपालको सत्ता राजनितीको केन्द्रबिन्दुमा रही राजकीय सत्ताको चाबी हातमा लिएर मस्ती मारिरहेका छन् । आमनागरिकहरुले आस गरिए अनुसार यी दलहरुबाट नेपाली जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन आउन त परै जाओस् नेपालको सार्बभौमिकता,राष्ट्रिय एकता,अखण्डता,स्वतन्त्रता र स्वाधिनता समेत सम्मानित र सुरक्षित हुन सकेन । मुलुक पूर्णत परनिर्भरताको खाडलमा जाकियो ।  अर्थतन्त्र मजबुत हुन सकेन ।  नेपालीले आदिमयुगदेखि अंगालेको बिबिध मौलिक धर्मसंस्कृति,सभ्यता र पहिचान समाप्त पार्दै लगियो,राष्ट्रिय तथा क्षेत्रीय स्तरका सम्पुर्ण उद्योगधन्दा कलकारखानाहरु र कृषियोग्यभुमी सबै समाप्त पारियो । नदिनाला,महत्वपुर्ण खानी तथा बहुमुल्य जडिबुटीहरु समेत बिदेशीको हातमा सुम्पिए र युवा शक्तीलाई मुलुकमै गरिखाने आधारहरु सबै ध्वस्त बनाएपछि ७० लाखभन्दा बढी देशको होनाहार जनशक्ती बिदेशीन बाध्य भए र कुनै समय स्वाभिमानी बहादुर नेपाली अहिले बैदेशिक मजदुरको रुपमा परिणत हुन गयो ।

मुलुकमा सबै खाले शिक्षामा चरम राजनीतिकरण तथा ब्यापारीकरण हुँदै गएपछि अध्ययनकै लागि भएपनि युवाशक्ती र पुंजि पलायन हुने अबस्था सृजना भयो । अबको एकदशकभित्र मुलुक चुस्न पल्केका नेता र तिनका झोले कार्यकर्ता र बुढाबुढी बाहेक कोही रहने छैनन र युवा बिहिन मुलुक बन्नेछ त्यसपछि उच्च माध्यामिक तह र विश्वविद्यालय तहमा अध्ययन अध्यापन गर्ने गराउने जनशक्तिको अभाव त हुने नै छ सेना र प्रहरीमा भर्ना हुने बयस्कहरु समेत भेटिने छैनन । विदेशी स्वार्थ अर्थात ईण्डोपश्चिमा शक्तिले जबरजस्ती लादि दिएको कथित ७ प्रदेश संरचना धाान्नकै लागि संसारमै नभएको करप्रणाली जनताको टाउकोमा थोपर्दापनि नपुगेर उत्पादनशिल काममा भन्दा साधारण खर्च बढ्नाले प्रत्येक नेपालीको टाउकामा ८६ हजार ऋण बोकाई सके ।

२०४६ मा चप्पल लगाएर राजधानी छिरेका नेताहरु आज अर्बपति नवधनाढ्यमा परिणत भए । मुलुकको करिब ६६ खर्ब कुल रकम मध्ये करिब ६ खर्ब लघुबित्त तथा सहकारीहरुसंग,करिब ३५ खर्ब ६० उच्च धनाढ्य परिवारहरुसंग,करिब ९ खर्ब १८ लाख मध्यमवर्गका नागरिकहरुसंग र बांकी १६ खर्ब सर्बसाधारण नागरिकहरुसंग रहेको अनुमान गरिंदैछ । राज्यको सम्पुर्ण संयन्त्रहरु न्यायीक निकाय,नीजामती,प्रहरी लगायत संबैधानिक अंगहरु यीनै पुराना राजनीतिक दलहरुको काबुमा छन जसको कारणले यी निकायहरु तीन पुराना दल तथा सरकारहरुको आदेशको पालना बाहेक जनतालाई सुशासनको प्रत्याभूति गराउन र राष्ट्र राष्ट्रियताको बिषय उच्चारण गर्न सक्दैनन । मुलुकमा दण्डहिता,अराजकता,अनुशासनहिनता र अपराध नियन्त्रण हुन सकेको छैन तर सरकारले गरेको देशहित विपरित कामहरुको बिरोध र खबरदारी गर्ने, देश र जनता बचाउन आवाज दिने देशभक्त नागिरकहरु तथा यो ब्यवस्थाको बिरोध गर्नेहरुलाई साथै नयाँ उदायकाहरुले भाग खोस्न आएको भनेर उनिहरुलाई प्रतिसोधपुर्ण ढंगले नियन्त्रणमा लिने काम चाहिँ भईरहेको छ । दिनानुदिन मुलुक भुराजनीतिक चपेटा र अन्तराष्ट्रिय राजनीतिको दाउपेचमा फसीसकेको छ । शासक दलहरुका नेता र कार्यकर्ताहरुले जनसाधारणलाई काबुमा राखेको अबस्था छ ।

तसर्थ पुराना दलहरुको मुल्यहिन र गन्तब्यहिन राजनितिको कारण प्राप्त यी नकारात्मक परिणामहरुले गर्दा जनतामा निराशा छाईरहेको छ र अन्यौलता समेत बढ्दै गएको अबस्थामा फेरि यीनै मुल्यहिन राजनीतिका पर्याय पुराना दलहरु नै यही मंसीर १६ मा भएको स्थानीय तहको उपनिर्बाचनमा जनअनुमोदित हुनुले मुलुक सुधार्छौ भनेर आएका नयाँ शक्ति,देशभक्त दलहरु र देशलाई माया गर्ने नागरिक समुहहरुलाई थप चिन्तित तुल्याउनु र झनै अन्यौता सृजना हुनु स्वभाविक नै हो तर यसरी पुरानाहरुकै पुनस् बर्चस्व कायम रहनुमा निम्न कारणहरु पनि देखिन्छ ।

१) पुराना दलहरु काग्रेस, एमाले र माओवादीले जित्नुको कारणहरु

(क) जनताहरु कतिपय सोझा हुनु, मत किन्न पैसाको खोलो बगाउनु,कतिपयमा सबैखाले चेतना र सुचनाको अभाब हुनु ।

(ख) यी दलहरुले लामो समय शासन चलाउंदै आईरहेकोले राज्यको सम्पुर्ण शक्ति उनिहरुकै हातमा रहेकोेले आमनागरिक यसबाट प्रभाबित हुनु

(ग) ३४ बर्ष देखि केन्द्र,प्रदेश,जिल्ला,पालिका र वडा स्तरसम्म प्यारा मेकानिजम ढंगबाट वृद्धवृद्धा, तरुण, बिद्यार्थी, शिक्षक, प्राध्यापक, निजामती, कर्मचारी, ईन्जिनियर, वकिल, मजदुर र पुर्ब सेना तथा प्रहरीहरुलाई समेत आ-आफ्नो भातृ संघ संगठनहरुमा क्रियाशिल गराउनु र तिनिहरुको प्रभाव जनस्तरसम्म फैलनु ।

(घ) यी पुराना दलहरुसंग निर्बाचनमा प्रसस्त पैसा खर्च गर्ने क्षमता हुनु

(ङ) स्थानीय तहमा लामो समयसम्म जनतासंग सुखदुख साटेका, टोलटोलमा मिलेर बसेका, सबैलाई सम्मान गरि सहयोग गरेर बसेका चिरपरिचित मिलनसार उमेदवारहरु चयन हुनु र स्थानीय तहको निर्बाचन भएको कारण चिनजान,नातादार र साथीभाइको कारणले गर्दापनि दल र सिद्दान्तभन्दा ब्यक्ति हेरेर समेत जनताले मत दिनु

(च) यी दलहरुका केन्द्रीय देखि स्थानीय स्तरसम्मका नेताहरु जनतासंग घुलमेल गर्न माहिर हुनु साथै जनताले गाली गर्दा होस वा सुझाब दिंदा सहन सक्ने क्षमता राख्ने तर प्रतिकार गर्न आईनलाग्ने स्वभाव हुनु र नागरिकको स साना ब्यक्तिगत समस्याहरु समेत समाधान गर्नमा सहयोग गर्ने चरित्र हुनु ।

२) राश्वपा र राप्रपा हार्नुको कारण:

(क) राश्वपा र राप्रपाका समर्थकहरु धेरैजसो युवा तथा देशभक्तहरु बिदेशमा बिदेशमा हुनु र केन्द्रदेखि वडा स्तरसम्म प्रभावकारी संगठनहरु नहुनु

(ख) स्थानीय निर्बाचन भएको कारण राप्रपाले उठाएको राष्ट्र, राष्ट्रियता र जनजिविका, बिबिध मौलिक धर्मसंस्कृतिको संरक्षण,सार्बभौमिकता, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र संबैधानिक राजसंस्था पुनर्स्थापना जस्ता विषयहरुमा खासै ध्यान नदिएको साथै नागरिकहरुमा राष्ट्रियता, सुचना र चेतनाको अभावले समेत केही काम गरेको ।

(ग) कांग्रेस कम्युनिष्टहरुमा जस्तो जनतासंग घुलमिल गर्ने क्षमता राप्रपा र राश्वपाहरुसंग नभएको, त्यहीँमाथि यी दुईदलपनि पुराना तीन दलहरु जस्तै भागबण्डाको राजनितीमा मुछिई सकेकोले सबै उस्तै उस्तै हुन भन्ने छाप जनतामा पर्नु ।

(घ) अझ राश्वपा त हामी नयाँहरु ब्यवस्था बदल्न होईन अब अबस्था बदल्न आएको भन्ने तर मुलुकको अबस्था कसरी बदल्न सकिन्छ,के के बदल्न आबश्यक छ,के के कारणले गर्दा मुलुक दुर्गतिमा जाँदै गरेको,राष्ट्रियताको सवालमा होस वा जनताको समस्याको सवालमा मुख्य समस्याहरु के के हुन र कसरी सम्बोधन गर्न सकिन्छ,के गर्नु हुन्छ,के गर्नु हुंदैन,के बोल्नु हुन्छ,के बोल्नु हुंदैन भन्ने सामान्य ज्ञान र क्षमता समेत नभएको अपरिपक्व समुहको रुपमा देखिएकोले । त्यसैगरी यो दलका समर्थक जमातहरु सामाजिक सञ्जालमा तल्लो भन्दा तल्लो स्तरमा ओर्लेर अशोभनीय,अमर्यादित र असभ्य ढंगले प्रस्तुत हुनुलेपनि सचेत नागरिकले नपत्याउनु र छोड्दै जानु । काठमाण्डौ १६ एक स्थानमा जित्नुको मुख्य कारण शहरी बाक्लो बस्ती हुनु त्यसैगरी बालेनका समर्थकहरु र माओबादीले भित्रि रुपमा सघाउनुले नै हो ।

(ङ) राप्रपामा एक दर्जनजति ४-५ दशकदेखि सत्तामा गई प्रयोग भएका तर मुलुक बनाउने र जोगाउने दुरदृष्टिकोण नभएका र राजालाई सहि सल्लाह दिन नसकेर राजसंस्था नै जाने वाताबरण बन्नुमा समेत हात रहेका हजुरिया प्रबृत्तिका महत्वाकांक्षी,मपाई तथा गुटफुटमा रमाउने नेताहरु भएको कारण अधिकांस जनसमुदायहरु राजसंस्था र हिन्दु सनातनको पक्षमा रहेतापनि राप्रपालाई बिश्वास गर्न सकेको अबस्था छैन यद्यपि यस पार्टीले २०७९ मा जितेरपनि अहिले उपनिर्बाचन गुमाएकोपनि होइन र उठेका उमेदवारहरुले पहिलाकोभन्दा केही मत बढाएकोपनि देखिन्छ ।

युगले जन्माएको ज्ञानेन्द्र शाही जस्ता भिजनरी लोकप्रिय युवालाई अगाडि राख्ने र पार्टीका बर्तमान अध्यक्ष राजेन्द्र लिङदेन,नेताहरु रबिन्द्र मिश्र, ध्रुव वहादुर प्रधान, दिपक वहादुर सिंह, धवल शम्सेर जबरा, बुद्धिमान तामाङ, डा.ठाकुरमोहन श्रेष्ठ र नयाँ अनुहारका नेताहरु एकढिक्का भएर जनतामा जाने होभने आगामी २०८४ को आम निर्बाचनमा केही प्रगति होला नत्र यो देश जोगाउन र सुधार्न अर्को नयाँ शक्तिको जन्म हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया