१४ कार्तिक २०८१, बुधबार | October 30, 2024

कामपाभित्र मिठाई पसलको मनोमानी


October 30, 2024
249
Shares

काठमाडौं,१४ कात्तिक । काठमाडौं महानगरपालिकाले राजधानीका मिठाई पसल अनुगन गर्नेक्रममा पुराना मिठाई पसलले महिनौंसम्म एउटै भाँडामा तेल, घिउ र चास्नीमा मिठाई पकाउने गरेका छन् ।

तिहार लक्षित मिठाई पसल अनुगमनका क्रममा कामपाको भित्री सहरमा रहेका मिठाई पसलमा लामो समयसम्म एउटै भाँडामा राखेको तेल, घिउ र चास्नीमा मिठाई तयार गर्ने गरेको पाइएको छ। विगत महिना दिनदेखि मिठाई पसलमा गरेको अनुगमनका क्रममा केही पुराना र नाम चलेका पसलले एउटै भाँडामा राखेको तेल, घिउ र चास्नीमा मिठाई पकाउने गरेको फेला पारेको छ।

‘धेरैपटक सचेत गराएका छौं, हामीसँग तेलको शुद्धता मापन गर्ने मेसिन नभएका कारण सूक्ष्म अनुगमन गरी कारबाही गर्न समस्या भएको हो’ –कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख नूरनिधि न्यौपानेले भन्नुभयो।

कामपा केही महिनाभित्र आयल टेस्ट मेसिन ल्याउने तयारी गरेको छ । ‘प्रक्रिया अघि बढाइसकेका छौं, केही दिनभित्र मेसिनले चेकजाँच गरी कैफियत भेटाए तत्काल कारबाही गर्ने तयारी गरेका छौं’ – विभागीय प्रमुख न्यौपानेले भन्नुभयो ।

कामपाले पछिल्लो एक सातादेखि तिहारका लागि तयार गरेको भाइमसला, मिठाई पसल अनुगमन गरेका थिथौं । चाडवाड लक्षित अनुगमन टोलीले महानगरको मिठाई पसल अनुगमन गर्ने क्रममा अधिकांश मिठाई पसलमा पुरानो तेल, घिउ र चास्नी प्रयोग गर्ने गरेको फेला पारेको हो । कामपा अनुगमन टोली सदस्य एवं माइक्रो वायोलोजिस्ट सन्जोग्ता थापामगरले धेरै मिठाई पसलले पुरानो तेल घिउ र चास्नी प्रयोग जारी राखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘तेल, घिउ र चास्नी पुरानो भएको मात्र होइन, तयार भएको र म्याद गुज्रे वा नगुज्रेको विषय उल्लेख गरेकै पाइँदैन । मिठाईमा प्रयोग हुने कलर जोखेर हालेको छैन, हचुवामा मात्रा पुर्‍याउने नाममा मनोमानी रूपमा प्रयोग गरेको पाएका छौं– थापामगरले भन्नुभयो ।

‘मसी प्रयोग भएको कागज प्रयोग रोखिएको छैन, लेबलिङ छैन, चिनीको मात्रा कति राख्ने केही उल्लेख भएको छैन । लामो समयसम्म राखिएको तेलमा पकाउने गरेको पाइएको छ –उहाँको भनाइ थियो । अनुगमनका क्रममा मिठाई निर्माणकर्ताले आधिकारिक रङनै प्रयोग गर्ने गरेको पाइएको छ।

माइक्रो बायोलोजिस्ट थापामगरले पहिलो पटक अनुगमन गरेका कारण कसैलाई पनि कारबाही नगरिएको र सच्चिने मौका दिएको बताउनुभयो । उहाँले भन्नुभयो– पहिलोपटक हिँडेका छौं, ठूलो स्वरले कराउँदा केही हुँँदैन । कानुनी प्रक्रिया ल्याएर कारबाही गर्ने तयारीमा छौं’ –थापामगरले भन्नुभयो ।

टोलीले भाइ मसला, मिठाई र किराना पसलमा अनुगमन जारी राखेको छ । विभागीय प्रमुख न्यौपानेले नियमित अनुगमन गरी सबैलाई व्यवस्थित गर्ने तयारी रहेको बताउनुभयो । माइक्रोबायोलोजिस्ट थापामगरका अनुसार हालसम्म झण्डै ३ सय ५० पसल अनुगमन गरेको जानकारी दिनुभयो । तिहार र छठ लक्षित भएकोले धेरैजसो मिठाई पसलमा अनुगमन जारी राखेको छ।

विभागको तीन टोलीले दैनिक अनुगमन जारी राखेको छ । अनुगमन गर्न माइक्रोवायोलोजिस्ट, फुड टेक्नोलोजिस्टलगायतका टोली बजार पुग्नेछन् । ‘इजाजत लिएको मिठाई रङ प्रयोग भए नभएको, मिठाईमा कति रङ प्रयोग गर्नेलगायतका विषयमा जानकारी लिएका छौं’ –माइक्रोबायोलोजिस्ट थापामगरले भन्नुभयो । टोलीले मिठाईमा प्रतिकिलो २ सय मिलिग्राम मात्र रङ मिसाउन आग्रह गरेको थियो ।

त्यस अलावा मिठाई डिस्प्ले गर्दा मिठाईको दरररेट मात्र राख्ने गरेको पाइएको छ । दररेटसँगै मिठाई तयारी मिति पनि उल्लेख गर्न आग्रह गरेको थापामगरले बताउनुभयो । ‘पहिलोपटक अनुगमन गरेर फर्कंदा सुझावमात्र दिएका छौं, दोस्रोपटक कार्यान्वयन नगरे कारबाहीका लागि अनुगमन समितिलाई सिफारिस गर्नेछौं’ –उहाँको भनाइ थियो ।

अनुगमन गर्नुअघि कामपाले सबै व्यवसायीसँग छलफल गरेको थियो । तालिममा १ सय ६२ जना सहभागी थिए । तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताको तालिम दिएको थियो । मिठाई व्यवसायमा योगशील, यसको सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, मिठाई स्वच्छताको जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ, लेभलिङ, भण्डारण, नियमन, उत्पादन गर्ने तथा बिक्री गर्ने स्थान, संरचना, सुविधा, भण्डारण अभ्यास, स्वच्छता मूल्याङ्कन योजनालगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो ।

खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्यूनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा मिठाईबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने कक्षा सञ्चालन गरिएका थिए। टोलीले ह्यान्डलिङ, भण्डारण, तयारी, सरसफाइजस्ता खाद्य सुरक्षा र सेवा व्यवस्थापनलगायत विषयमा छलफल गरेको थियो  समाचारपत्र

प्रतिक्रिया