२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रविलाई जेल धनराजलाई के ?


October 18, 2024
2.5k
Shares

प्रकाश रायमाझी: केपी ओलीले नैतिक रूपमा प्रधानमन्त्री पदमा बस्ने हैसियत गुमाएका छन्। सरकारवादी मुद्दाको प्रतिवादी बालुवाटार जग्गा घोटला काण्डका मुख्य अभियुक्त तिनै तह अदालतमा मुद्दा चलिरहेको धरौटीमा रिहा भएका मिनबहादुर सँग काँध मिलाएर पार्टी कार्यालयको शिलान्यास गर्दा ऐन कानुनको धज्जी उडाएका छन्। राजस्व अनुसन्धानले राजस्व छलीमा मुद्दा चलाइरहेकै छ। अनेकौ काण्डमा मुछिएका विवादित व्यक्तिले दान गरेको जग्गा प्रधानमन्त्रीको हैसियतले पार्टी प्रयोजनको लागि दान लिनु नै गैरकानुनी र विधिको शासन बर्खिलाफ छ।

ओलीले एमालेको अध्यक्षको हैसियतले मात्रै जग्गा लिएको हो भने त्यो पनि गलत छ। संसदमा प्रतिनिधित्व गर्ने दल सरकारकै अङ्ग मानिन्छ। एमालेको अध्यक्षमा बस्ने नैतिक हैसियत पनि ओलीले गुमाएका छन्। ओली विरुद्ध मुद्दा लाग्छ नै ।विभिन्न स्वार्थ एवं अभिष्ट पूरा गर्ने उद्देश्यले दिएको जग्गा लिनु ओलीका लागि खुसी लाग्यो होला। ओलीको कारणले सिङ्गो पार्टीलाई नैतिक रूपमा स्खलित गराएका छन्। ओलीको दम्बले,एमाले विवादित र कमजोर बन्न पुगेको छ। देशमा भयानक विपत्तिको अवस्था छ अहिले पार्टी कार्यालय शिलान्यास गर्ने र जग्गा लिने अवस्था पनि थिएन। रवि लामिछाने लाई सहकारी ठगी काण्डमा कारबाहीमा पर्नुपर्छ। तर विधिसम्मत ढङ्गले कारबाही गर्दा सरकारले स्याबासी लिने होइन। यो नियमित प्रक्रियाभित्र सम्बन्धित निकायहरूले कारबाही गर्न सक्छन्। तर निकम्मा प्रशासनले यति काम गर्दा सरकारलाई किन धन्यवाद।ठगीको प्रमाण भएपछि‌। रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीलाई प्रमोसन गराउने बहानामा उनको श्रीमतीलाई सपिङ गराएको विलासी सामानका बिलहरू पनि प्रहरीले अनुसन्धानमा ल्याइनुपर्छ‌।

बाहिर चर्का कुरा गर्ने आडम्बर भ्रष्टहरूको चरित्र उजागर गर्न प्रशासन पछि हट्नुहुन्न। तर भ्रष्ट र माफियाहरुले बनाएको सरकारले नेपाली कांग्रेसका धनराज गुरुङलाई कारबाहीमा ल्याउनुपर्छ‌। उनलाई उन्मुक्ति दिने होइन। आरजु देउवाको कसुर, ओलीको सचिवालयको भ्रष्टाचार पनि छानबिन हुनुपर्छ। गिरिबन्धुको नीतिगत भ्रष्टाचारको फैसलालाई पनि अन्देखा गर्न मिल्दैन। यसलाई कसले छानबिन गर्ने‌ ? अकर्मण अनि असफलताले घेरिएको सरकारले जनताको ध्यानलाई अन्यत्र भ्रम छरेर सत्तामा टिक्न यी नाटकहरू मञ्चन गरिनु स्वभाविकै हो। तर संविधान संशोधन र अन्य चटक देखाएर केपी ,शेरबहादुर ,प्रचण्ड राजनीतिको केन्द्रमा टिकिरहने षड्यन्त्रदेखि जनता सावधान हुनुपर्छ। यी खलपात्रहरु राजनीति र सत्ताबाट मुक्तक नभएसम्म देश बन्दैन अबको विकल्प यही हो। विधिको शासन भ्रष्टाचारमुक्त प्रशासन ,स्वच्छ स्वतन्त्र, न्यायालय ,जनताप्रति उत्तरदायी सरकारको अनुभूति नभएसम्म यो माफिया सरकारको नाटकमा जनता झुक्किनुहुन्न। रायमाझी राजनीति विश्लेषक हुन्

प्रतिक्रिया