७ आश्विन २०८१, सोमबार | September 23, 2024

फुड सप्लिमेन्टका नाममा चरम शोषण, करोडौं राजस्व छलेको आशंका


September 23, 2024
249
Shares

काठमाडौं,७ असोज । लक्ष्मण अधिकारी । फर्मास्युटिकल बनावटमा तयार गरी ‘खाद्यपूरक’, ‘न्युट्रास्युटिकल’, ‘फुड सप्लिमेन्ट’ आदि नामले बजारीकरण गरिएका र चिकित्सकको सिफारिसमा औषधि व्यवसायीले बिक्रीवितरण गर्ने ज्यादै न्यून प्रभाव भएका वस्तुहरू महंगो मूल्यमा बेचेर आम जनताको व्यापक शोषण गर्ने काम भइरहेको पाएको छ।

अधिकांश विदेशबाट आयात गरिने यस्ता वस्तुहरूमध्ये कतिपयले भन्सारमा कम मूल्याङ्कन गराई पछि मूल्य राखेर राजस्वसमेत छलिरहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ। कतिपय यस्ता मल्टिभिटामिन तथा डायटरी सप्लिमेन्टहरूको बट्टामा हेर्दा मूल्य पछि राखिएको स्पष्ट देखिन्छ।

औषधि व्यवस्था विभागमा दर्ता नभएका कमजोर गुणस्तर तर अत्यधिक मुनाफा राखेर बेचिने यस्ता फुड सप्लिमेन्ट र कस्मेटिक गरेर वार्षिक करिब १५ अर्बको कारोबार भइरहेको सम्बद्ध व्यवसायीहरूको अनुमान छ ।

यस्ता अधिकांश फुड सप्लिमेन्ट तथा भिटामिनहरू ‘आहारपूरक’ ९डायटरी सप्लिमेन्ट०को नाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दर्ता गरेको पाइन्छ । औषधि कम्पनीहरूले उत्पादन गरेको र औषधि व्यवस्था विभागले स्वीकृति दिएको एक स्ट्रिप आइरन १ सय ५० रुपियाँमा पाइने गरेको तर त्यहाँ दर्ता नभएका र औषधीय प्रभाव कम भएका डायटरी सप्लिमेन्ट भनिने एक स्ट्रिप आइरन चक्कीलाई ३ सय ५० रुपियाँसम्म लिने गरेको औषधि बिक्रेताहरूको भनाइ छ । दिनदहाडै यति ठूलो लुट मच्चाइरहँदा पनि कसैले कारबाही गरेको पाइदैन ।

खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले २०८१ श्रावणमा ३ सय प्रकारका आहारपूरक खाद्य पदार्थ दर्ता एवं नवीकरण गरेको छ। यी र यस्तै वस्तुहरूलाई ‘फुड सप्लिमेन्ट’, ‘औषधिपूरक’, ‘न्युट्रास्युटिकल्स’ भनेर चिकित्सकले सिफारिस गर्ने र व्यवसायीहरूले बेच्ने गरेका छन् । यीमध्ये फर्मास्युटिकल बनावटका कतिपय फुड सप्लिमेन्टहरू नेपाल सरकारले आयात तथा बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको र यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दासमेत विचाराधीन रहेको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धमाधम स्वीकृति दिनुको पछाडि ठूलो आर्थिक चलखेल रहेको औषधिसँग सम्बन्धित अधिकारीहरूको भनाइ छ।

औषधि व्यवस्था विभागले गत फागुन २२ गते सो विभागमा दर्ता रहेका औषधिमात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा विभागमा दर्ता नभएका फर्मास्युटिकल बनावटका खाद्यपूरकका नाममा औषधिपूरक न्युट्रास्युटिकल ट्याबलेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रसाधन सामग्रीका नाममा औषधि मिश्रित आइन्मेंट क्रिम आदि औषधिहरू औषधि पसलहरूबाट बिक्रीवितरण गरेको भेटिएको हुँदा यस्ता उत्पादनहरूको बिक्री वितरण नगर्न र गरेमा कारबाही गर्ने सूचना प्रकाशित गरेको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयअन्तर्गतका राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न सरकारी अस्पतालहरूले आफूअन्तर्गतका चिकित्सकलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युरास्युटिकल्स वा फुड सप्लिमेन्ट तथा मेडिसिनहरू बिरामीहरूका लागि सिफारिस नगर्न नगराउन र सिफारिस गरेको भेटिएमा कारबाही गर्ने परिपत्र गरेको थियो ।

यसको लगत्तै नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति प्रकाशन गर्दै ‘औषधि व्यवस्था विभागको हवाला दिएर विभिन्न अस्पताल प्रमुखहरूबाट चिकित्सकहरूलाई विभिन्न किमिका औषधि एवं अन्य खाद्यपूरक सामग्रीहरू सिफारिस नगर्न धम्कीपूर्ण सूचना सम्प्रेषण भएकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको र चिकित्सकहरूसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको’ भन्दै चिकित्सक संघको प्रतिष्ठामा नै आँच आउने गरी प्रतिवाद गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक उच्च अधिकारी नाम उल्लेख नगर्ने शर्तमा भन्नुहुन्छ, ‘आहारपूरक वा डायटरी सप्लिमेन्ट खाद्य पदार्थ भएकाले यो डाइटिसियनले प्रेस्क्राइव गर्ने हो । यो मेडिकल प्रयोजनका लागि ल्याइएको वस्तु होइन । रोगबाट बचाउन, रोकथाम गर्न र उपचार गर्न पनि नसक्ने भएकाले नै यो खाद्य परिपूरक भनिएको हो र यसलाई डाक्टरले प्रेसक्राइब गर्न मिल्दैन ।’

जथाभाबी मूल्य राखिएको सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘औषधि कम्पनीले उत्पादन गरेको प्रचलित भिटामिन डी ६ रुपियाँमा पाइन्छ भन्ने आहारपरिपूरक भनिएको भिटामिन डी को ३५ देखि ४५ रुपियाँसम्म लिनु अपराध हो र ठगी नै हो । एउटै वस्तुको गुण हाइकन्सन्ट्रेसन भएको सस्तो मूल्यमा पाइरहेको छ, तर त्यही वस्तुको गुण लो कन्सन्ट्रेसनमा छ तर मूल्य चाहिँ बढी तिर्नु परिरहेको छ, यो जायज होइन । यसभित्र के सञ्जाल छ त्यसको चिरफार सम्बन्धित निकायले गर्न जरुरी छ । मैले आफ्ना कर्मचारीहरूलाई बोलाएर आहारपूरकको मूल्य पहिले नै तोक्नु पर्छ भन्दा उहाँहरू मसँग रिसाउनु भयो । यसको पछाडि को को छन् म भन्न सक्तिनँ ।’

यसै सन्दर्भमा नेपाल फर्मास्युटिकल एसोसिएसनले ‘न्युट्रास्युटिकल औषधि नरहेकोले उक्त वस्तुहरू आफ्नो फार्मेसीहरूबाट बिक्री वितरण नगर्न’ आह्वान गर्दै विज्ञप्ति निकालेको थियो । उक्त एसोसिएसनले ‘खाद्यको रूपमा दर्ता गरी औषधिजस्तै बनावटमा औषधि नै हो भनी प्रयोगकर्तालाई भ्रममा पारेर फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनको बिक्रीवितरण भइरहेको तर ती उत्पादन स्वास्थ्य सुधारका लागि प्रयोग गर्न अनुपयुक्त रहेको’ भनी एसोसिएसनले विभिन्न कारणसमेत खुलाएको छ ।
वरिष्ठ फर्मासिस्ट तथा उपभोक्ता अधिकारकर्मी बाबुराम हुमागाईं भन्नुहुन्छ ‘फुड सप्लिमेन्ट भनिएका अधिकांश वस्तुमा औषधिमा भन्दा गुणस्तर कम तर मूल्य बढी राखी जनतालाई ठग्ने काम भएको छ । कतिपयको उत्पादक कम्पनी नै फेला पर्दैनन् ।

विदेशबाट ल्याइएका फुड सप्लिमेन्ट नेपालमा नै कभर छापी प्याकिङ गरेको र आफूखुसी मूल्य राखेको जस्तो देखिन्छ । त्यस्ता कतिपय फुड सप्लिमेन्टभित्र के के छन् भन्ने स्पष्ट हुँदैन र त्यस्ता वस्तु डाक्टरले सिफारिस गर्न नहुनेमा सिफारिस भइरहेको पाइन्छ। फुड सप्लिमेन्टका नाममा औषधिभन्दा कम गुणस्तरको वस्तु बेचेर जनता मार्ने काम भइरहेको छ। यो अपराध हो ।’
उहाँ भन्नुहुन्छ – ‘क्याल्सियम भनेर बेचिने जिफिम फोर्टलाई ३५ देखि ४५ रपियाँसम्म लिने गरिएको छ। तर, औषधि कम्पनीले नै उत्पादन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको राम्रो कम्पनीको सेलक्याल, जिक्याल, क्यालमिन्ट आदि क्याल्सियम प्रतिट्याबलेट ६ रुपियाँमा नै पाइन्छ । विशेषगरी भिटामिन डी, भिटामिन बी १२, ओमेगा ३ फ्याट्टी एसिडलगायत अन्य भिटामिनहरू फुड सप्लिमेन्टका रूपमा बेच्ने गरिएको छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति दिएको सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘खाने कुरा चक्कीमा आउँदैन, यो ठगी धन्दामात्र हो । यसको विरोध गर्दा पनि कसैले कारबाही नगर्नु रहस्यको विषय भएको छ। यस्ता वस्तु उपभोक्ताले किन्दा नाम चलेको औषधि कम्पनीले उत्पादन गरेको र औषधि व्यवस्था विभागले स्वीकृति दिएको भिटामिन वा फुड सप्लिमेन्टमात्र किन्नु पर्छ ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भन्नुहुन्छ, ‘औषधि व्यवस्था विभागमा दर्ता भएको भिटामिन डी प्रायः सात आठ रुपियाँमा पाइन्छ तर त्यही प्रकारको वस्तुलाई फुड सप्लिमेन्ट भनेर आएपछि ३५ देखि ६५ रुपियाँसम्म लिनु ठीक होइन। उपचारकै लागि आएको तथा औषधि व्यवस्था विभागले स्वीकृति दिएको र तुलनात्मक रूपमा बढी प्रभावकारी वस्तुचाहिँ सस्तोमा पाइने तर प्रभावकारिता कम भएको फुड सप्लिमेन्ट भनेको वस्तुको चाहिँ महंगो कसरी लिन मिल्छ रु यो ज्यादै दुःख लाग्दो कुरा छ । फुड सप्लिमेन्ट भनेको वस्तुको गुणस्तर अडिट पनि भएको छैन, प्रमाणीकरण पनि भएको छैन।

खाद्य पूरकको नाममा जनतालाई भ्रममा पारिएको छ र महंगो मूल्य राखेर जनताको उपचार खर्च बढाउने काम भएको छ । यो अपराध हो । मूल्यको सन्दर्भमा हामीले अनुगमन गर्न खोज्दा यो खाद्यअन्तर्गतको हो भनेर हामी कहाँ दबाब दिन मानिसहरू आए । अनुमति दिनेले यस बारेमा हेर्नुपर्ने हो ।’

‘सरकारले प्रतिबन्ध गरेकै अवस्थामा औषधि कम्पनीले उत्पादन गर्ने, त्यसमा राखिएका सम्मिश्रण पनि औषधिकै जस्तो हुने, डाक्टरले बिरामीलाई सिफारिस गर्ने, औषधि फार्मेसीले बेच्ने अनि फुड सप्लिमेन्ट भनेर खाद्यले स्वीकृति दिने कुराप्रति आममानिसले विश्वास गर्नुपर्ने कस्तो विडम्बना रु समाजमा भइरहेको यो ठूलो क्राइम नै हो भन्ने मलाई लाग्छ । यो विषयमा सर्वोच्च अदालतमा मुद्दा पनि चलिरहेको छ’ महानिर्देशक ढकालले भन्नुभयो ।

आहारपूरकको अत्यधिक मूल्य कमजोर गुणस्तर बारेमा प्रश्न गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भन्नु हुन्छ, ‘आहारपूरक कुनै रोग लाग्न नदिन दिइने पोषण हो, तर यो मेडिसिनल प्रयोगका लागि भने होइन । यो डाक्टरले प्रेसक्राइब गरेर खाने खालको होइन । यो क्युरेटिब डोजमा पनि हुँदैन । यो उपचारका लागि नभएकाले हाइडोजको हुँदैन । हामी यसको गुणस्तरमात्र हामी हेर्छौं यसको मूल्य बारेमा वाणिज्यले हेर्छ ।’

तर, जनस्वास्थ्य विज्ञ डा। अरुणा उप्रेती, ‘मानिसलाई आवश्यक पर्ने भिटामिनलगायत पौष्टिक तत्व सबै खाना र घामबाट नै प्राप्त हुने भएकाले फुड सप्लिमेन्ट भनेको छुट्टै चाहिने वस्तु नै होइन । विशेष परिस्थितिमा जस्तो कलेजोमा धेरै समस्या भयो वा मानिस सिकिस्त भएर अस्पताल भर्ना भई खाना खान नै नसक्ने अवस्थामा मात्र जरुरत पर्न सक्छ, नत्र काम छैन’ भन्नु हुन्छ ।
डा। उप्रेती भन्नुहुन्छ, ‘म ६४ वर्षको भएँ मैले अहिलेसम्म कुनै फुड सप्लिमेन्टको नाममा एक चक्की पनि खाएको छैन र मेरा छोरीहरूलाई पनि दिएको छैन । तर, अहिले त १० दिनको बच्चाहरूलाई पनि दिन थालिएको छ ।

जुन आवश्यक नै छैन, बच्चालाई चाहिने भिटामिनहरू आमाको दूध र घामबाट नै प्राप्त हुन्छ । खाने कुराबाट पाइने पोषणलाई बेवास्ता गरेर झोल, चक्की र क्याप्सुल खुवाउने प्रवृत्ति गलत छ । यसले मानिसलाई फाइदा गर्ने होइन आर्थिक हानी गर्छ र उत्पादकलाई धनी पार्छ ।

सुनाकोठी, वीरगञ्जलगयात थुप्रै ठाउँमा नेपाल सरकारकै पोषण पुनस्र्थापना केन्द्रहरू छन्, जहाँ कुपोषण भएकालाई राखेर घाम र खाने कुराहरूबाटै स्वस्थ बनाइन्छ । कुनै फुड सप्लिमेन्ट दिइँदैन । चाहिने भए त दिइन्थ्यो होला नि । कृषि मन्त्रालयले नेपालभर पाइने खाद्य वस्तुहरूमा के के पोषण पाइन्छ भनेर विस्तृत सूची तयार गरेको छ, तर यो स्वास्थ्य मन्त्रालय र पोषणबारे जानकारी दिने स्वास्थ्य कार्यकर्ताहरूसमक्ष पनि पुग्दैन । सायद कृषि मन्त्रालयअन्तर्गतकै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पनि पुगेन कि जस्तो छ ।

नेपालजस्ता देशमा ४० वर्ष कटेपछि महिलाहरूलाई क्याल्सियम र भिटामिन डी दिनै पर्छ भन्ने चलन चलेको छ । आलस, तिल, गुन्द्रुक, ज्वानोमा एकदम धेरै क्याल्सियम पाइन्छ । त्यसका बारेमा चाहिँ महिलाहरूलाई जानकारी दिइँदैन बरु क्याल्सियमको चक्की दिइन्छ । विदेशमा बस्नेहरूले बाबुआमालाई भिटामिन डी, माछाको तेल आदि फुड सप्लिमेन्ट पठाउने फेसन नै बनेको छ । यो जरुरत छैन । आइरन कोदो फापर, भटमास, दालहरू सबैमा पाइन्छ । आइरन चक्कीमा आइरनमात्र हुन्छ भने यी खाद्य वस्तुहरूमा अन्य पोषक तत्व पनि पाइन्छ’ डा। उप्रेती भन्नुहुन्छ ।

थोरै मूल्यमा दैनिक खाना र घामबाट नै प्राप्त हुने पोषण तत्वलाई प्रवद्र्धन गर्नुका साटो ठूला कम्पनी, व्यापारी र घुस्याहा गिरोहलाई धनी बनाउन सरकारको एउटा निकायले प्रतिबन्ध गरेका वस्तुहरू सरकारकै अर्को निकाय लाइसेन्स बाँड्न उद्यत हुनु मुलुककै ठूलो दुर्भाग्य हो । आहारपूरक, न्युट्रास्युटिकल तथा फुड सप्लिमेन्टका नाममा बिक्री गरिने वस्तुहरूले कति हानि गरिरहेको छ त्यसको लेखाजोखा भएको पनि पाइँदैन ।

बृटिस मेडिकल जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार नियमित रूपमा माछाको तेल ९ओमेगा ३ फ्याटटी एसिड० सेवन गर्नाले शुरूमा केही लाभ देखिए पनि पछि मुटु रोग हुने सम्भावना वृद्धि गर्ने उल्लेख छ । अनुसन्धानकर्ताहरूका अनुसार मुटुको समस्या नभएका मानिसले नियमित रूपमा माछाको तेल प्रयोग गरेमा मुटुसम्बन्धी समस्या हुने सम्भावना १३ प्रतिशतले वृद्धि हुन्छ भने मस्तिष्क घात हुने सम्भावना पाँच प्रतिशतले वृद्धि हुन्छ ।

यस्तै, क्लिनिकल अन्कोलोजीसम्बन्धी एक अध्ययनअनुसार भिटामिन बी ६ र भिटामिन बी १२ चक्की पूरक आहारको रूपमा खाँदा फोक्सोको क्यान्सरको सम्भावना बढ्न सक्छ ।

जनता ठगिने र स्वास्थ्य जोखिममा पर्ने
न्युट्रास्युटिकल्स तथा डायटरी सप्लिमेन्ट किन बेच्नु हुँदैन भन्ने सम्बन्धमा
नेपाल फर्मास्युटिकल एसोसिएसनको मुख्य भनाइ स्
–औषधि ऐनअन्तर्गत नियमन नहुने हुनाले सुरक्षित, असरयुक्त र गुणस्तरीयता प्रमाणित नहुने ।
–औषधिजस्तो क्लिनिकल परीक्षण नगरिने हुनाले न्युट्रास्युटिकल सेवनपछि शरीरमा कुन ठाउँमा कति मात्रामा पुग्छ र लामो समय प्रयोग गर्दा हुने असरबारे थाहा नहुने ।
–न्युट्रास्युटिकलहरूको वैज्ञानिक रूपले विश्वसनीय परीक्षण विधि नभएको ।
–औषधि र औषधि प्रयोग गर्दा एक आपसमा अन्तरक्रिया गरी असर घटाउने वा बढाउने ९असरहीन वा विषाक्त० हुने विश्वव्यापी तथ्यांक रहेको हुनाले प्रयोग र उपचार विधि थाहा भएको तर न्युट्रास्युटिकल औषधिसँगै प्रयोग गर्दा कसरी असर गर्छ भन्ने वैज्ञानिक तथ्यांक नभएको ।
– औषधि व्यवस्था विभागमा औषधिको रूपमा दर्ता रहेको आइरन, मल्टीभिटामिन आदिभन्दा न्युट्रास्युटिकलको रूपमा आउँदा कयौं गुणा बढी मूल्य भएर बजारमा बिक्री वितरण भइरहेको ।
–औषधिहरूले भ्रमात्मक प्रचार गर्न नपाइने र विज्ञापन गर्न स्वीकृति लिनु पर्ने प्रावधान भएको तर न्युट्रास्युटिकलहरूको मनगढन्ते, हुँदै नभएको स्वास्थ्य लाभ र फाइदाहरू दाबी गरी विज्ञापन गरिएकोले आर्थिक रूपमा जनता ठगिने र स्वास्थ्यमा जोखिम हुन सक्ने ।
–औषधिजस्तो न्युट्रास्युटिकलहरू वृद्ध, दीर्घ रोगी, गर्भवती, बच्चामा प्रयोग गर्न मिल्ने नमिल्ने र कसरी प्रयोग गर्नेबारे केही तथ्यांक उपलब्ध नभएको । समाचारपत्र

प्रतिक्रिया