फुड सप्लिमेन्टका नाममा चरम शोषण, करोडौं राजस्व छलेको आशंका
काठमाडौं,७ असोज । लक्ष्मण अधिकारी । फर्मास्युटिकल बनावटमा तयार गरी ‘खाद्यपूरक’, ‘न्युट्रास्युटिकल’, ‘फुड सप्लिमेन्ट’ आदि नामले बजारीकरण गरिएका र चिकित्सकको सिफारिसमा औषधि व्यवसायीले बिक्रीवितरण गर्ने ज्यादै न्यून प्रभाव भएका वस्तुहरू महंगो मूल्यमा बेचेर आम जनताको व्यापक शोषण गर्ने काम भइरहेको पाएको छ।
अधिकांश विदेशबाट आयात गरिने यस्ता वस्तुहरूमध्ये कतिपयले भन्सारमा कम मूल्याङ्कन गराई पछि मूल्य राखेर राजस्वसमेत छलिरहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ। कतिपय यस्ता मल्टिभिटामिन तथा डायटरी सप्लिमेन्टहरूको बट्टामा हेर्दा मूल्य पछि राखिएको स्पष्ट देखिन्छ।
औषधि व्यवस्था विभागमा दर्ता नभएका कमजोर गुणस्तर तर अत्यधिक मुनाफा राखेर बेचिने यस्ता फुड सप्लिमेन्ट र कस्मेटिक गरेर वार्षिक करिब १५ अर्बको कारोबार भइरहेको सम्बद्ध व्यवसायीहरूको अनुमान छ ।
यस्ता अधिकांश फुड सप्लिमेन्ट तथा भिटामिनहरू ‘आहारपूरक’ ९डायटरी सप्लिमेन्ट०को नाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दर्ता गरेको पाइन्छ । औषधि कम्पनीहरूले उत्पादन गरेको र औषधि व्यवस्था विभागले स्वीकृति दिएको एक स्ट्रिप आइरन १ सय ५० रुपियाँमा पाइने गरेको तर त्यहाँ दर्ता नभएका र औषधीय प्रभाव कम भएका डायटरी सप्लिमेन्ट भनिने एक स्ट्रिप आइरन चक्कीलाई ३ सय ५० रुपियाँसम्म लिने गरेको औषधि बिक्रेताहरूको भनाइ छ । दिनदहाडै यति ठूलो लुट मच्चाइरहँदा पनि कसैले कारबाही गरेको पाइदैन ।
खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले २०८१ श्रावणमा ३ सय प्रकारका आहारपूरक खाद्य पदार्थ दर्ता एवं नवीकरण गरेको छ। यी र यस्तै वस्तुहरूलाई ‘फुड सप्लिमेन्ट’, ‘औषधिपूरक’, ‘न्युट्रास्युटिकल्स’ भनेर चिकित्सकले सिफारिस गर्ने र व्यवसायीहरूले बेच्ने गरेका छन् । यीमध्ये फर्मास्युटिकल बनावटका कतिपय फुड सप्लिमेन्टहरू नेपाल सरकारले आयात तथा बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ।
नेपाल सरकारले प्रतिबन्ध लगाएको र यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दासमेत विचाराधीन रहेको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धमाधम स्वीकृति दिनुको पछाडि ठूलो आर्थिक चलखेल रहेको औषधिसँग सम्बन्धित अधिकारीहरूको भनाइ छ।
औषधि व्यवस्था विभागले गत फागुन २२ गते सो विभागमा दर्ता रहेका औषधिमात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा विभागमा दर्ता नभएका फर्मास्युटिकल बनावटका खाद्यपूरकका नाममा औषधिपूरक न्युट्रास्युटिकल ट्याबलेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रसाधन सामग्रीका नाममा औषधि मिश्रित आइन्मेंट क्रिम आदि औषधिहरू औषधि पसलहरूबाट बिक्रीवितरण गरेको भेटिएको हुँदा यस्ता उत्पादनहरूको बिक्री वितरण नगर्न र गरेमा कारबाही गर्ने सूचना प्रकाशित गरेको थियो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयअन्तर्गतका राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न सरकारी अस्पतालहरूले आफूअन्तर्गतका चिकित्सकलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युरास्युटिकल्स वा फुड सप्लिमेन्ट तथा मेडिसिनहरू बिरामीहरूका लागि सिफारिस नगर्न नगराउन र सिफारिस गरेको भेटिएमा कारबाही गर्ने परिपत्र गरेको थियो ।
यसको लगत्तै नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति प्रकाशन गर्दै ‘औषधि व्यवस्था विभागको हवाला दिएर विभिन्न अस्पताल प्रमुखहरूबाट चिकित्सकहरूलाई विभिन्न किमिका औषधि एवं अन्य खाद्यपूरक सामग्रीहरू सिफारिस नगर्न धम्कीपूर्ण सूचना सम्प्रेषण भएकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको र चिकित्सकहरूसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको’ भन्दै चिकित्सक संघको प्रतिष्ठामा नै आँच आउने गरी प्रतिवाद गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक उच्च अधिकारी नाम उल्लेख नगर्ने शर्तमा भन्नुहुन्छ, ‘आहारपूरक वा डायटरी सप्लिमेन्ट खाद्य पदार्थ भएकाले यो डाइटिसियनले प्रेस्क्राइव गर्ने हो । यो मेडिकल प्रयोजनका लागि ल्याइएको वस्तु होइन । रोगबाट बचाउन, रोकथाम गर्न र उपचार गर्न पनि नसक्ने भएकाले नै यो खाद्य परिपूरक भनिएको हो र यसलाई डाक्टरले प्रेसक्राइब गर्न मिल्दैन ।’
जथाभाबी मूल्य राखिएको सम्बन्धमा उहाँ भन्नुहुन्छ, ‘औषधि कम्पनीले उत्पादन गरेको प्रचलित भिटामिन डी ६ रुपियाँमा पाइन्छ भन्ने आहारपरिपूरक भनिएको भिटामिन डी को ३५ देखि ४५ रुपियाँसम्म लिनु अपराध हो र ठगी नै हो । एउटै वस्तुको गुण हाइकन्सन्ट्रेसन भएको सस्तो मूल्यमा पाइरहेको छ, तर त्यही वस्तुको गुण लो कन्सन्ट्रेसनमा छ तर मूल्य चाहिँ बढी तिर्नु परिरहेको छ, यो जायज होइन । यसभित्र के सञ्जाल छ त्यसको चिरफार सम्बन्धित निकायले गर्न जरुरी छ । मैले आफ्ना कर्मचारीहरूलाई बोलाएर आहारपूरकको मूल्य पहिले नै तोक्नु पर्छ भन्दा उहाँहरू मसँग रिसाउनु भयो । यसको पछाडि को को छन् म भन्न सक्तिनँ ।’
यसै सन्दर्भमा नेपाल फर्मास्युटिकल एसोसिएसनले ‘न्युट्रास्युटिकल औषधि नरहेकोले उक्त वस्तुहरू आफ्नो फार्मेसीहरूबाट बिक्री वितरण नगर्न’ आह्वान गर्दै विज्ञप्ति निकालेको थियो । उक्त एसोसिएसनले ‘खाद्यको रूपमा दर्ता गरी औषधिजस्तै बनावटमा औषधि नै हो भनी प्रयोगकर्तालाई भ्रममा पारेर फार्मेसीमै न्युट्रास्युटिकल्स नामको उत्पादनको बिक्रीवितरण भइरहेको तर ती उत्पादन स्वास्थ्य सुधारका लागि प्रयोग गर्न अनुपयुक्त रहेको’ भनी एसोसिएसनले विभिन्न कारणसमेत खुलाएको छ ।
वरिष्ठ फर्मासिस्ट तथा उपभोक्ता अधिकारकर्मी बाबुराम हुमागाईं भन्नुहुन्छ ‘फुड सप्लिमेन्ट भनिएका अधिकांश वस्तुमा औषधिमा भन्दा गुणस्तर कम तर मूल्य बढी राखी जनतालाई ठग्ने काम भएको छ । कतिपयको उत्पादक कम्पनी नै फेला पर्दैनन् ।
विदेशबाट ल्याइएका फुड सप्लिमेन्ट नेपालमा नै कभर छापी प्याकिङ गरेको र आफूखुसी मूल्य राखेको जस्तो देखिन्छ । त्यस्ता कतिपय फुड सप्लिमेन्टभित्र के के छन् भन्ने स्पष्ट हुँदैन र त्यस्ता वस्तु डाक्टरले सिफारिस गर्न नहुनेमा सिफारिस भइरहेको पाइन्छ। फुड सप्लिमेन्टका नाममा औषधिभन्दा कम गुणस्तरको वस्तु बेचेर जनता मार्ने काम भइरहेको छ। यो अपराध हो ।’
उहाँ भन्नुहुन्छ – ‘क्याल्सियम भनेर बेचिने जिफिम फोर्टलाई ३५ देखि ४५ रपियाँसम्म लिने गरिएको छ। तर, औषधि कम्पनीले नै उत्पादन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको राम्रो कम्पनीको सेलक्याल, जिक्याल, क्यालमिन्ट आदि क्याल्सियम प्रतिट्याबलेट ६ रुपियाँमा नै पाइन्छ । विशेषगरी भिटामिन डी, भिटामिन बी
