६ आश्विन २०८१, आइतबार | September 22, 2024

भूउपग्रह प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : मन्त्री पाण्डे


September 22, 2024
166
Shares

काठमाडौं असोज ६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेका बेला हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुले तिनको सामान गर्न हामीलाई शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताउनु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले परंपरागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेरपूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्र्दै बाढीको अबस्थाबारे आदिवासी ज्ञानलाई भू उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताउनुभयो ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभइ वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह बृध्दि जस्ता प्रकोप झेल्नु परिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू यी जोखिमको अग्रभागमा रहेको बताउनुभयो ।

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने परम्परा, भाषा, अनुष्ठान, ज्ञान प्रणाली, र कला अमूर्त सांस्कृतिक सम्पदाहरु भएको र यिनीहरु हाम्रो पहिचानको आधार भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘यसले हामीलाई संसारलाई कसरी हेरिरहेका छौ , प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरेका छौ, र संकटमा हामी कसरी प्रतिक्रिया दिन्छौं भन्ने कुरा निर्धारण गर्ने छ । प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा यी सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान छन् ।

उहाँले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौंदेखि जटिल ज्ञान र अभ्यासका प्रणालीहरू विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बतउनुभयो ।

हाम्रा सांस्कृतिक सम्पदाहरुमा यस्ता प्रकोपहरुसँग कसरी अनुकुलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले संकटका समयमा जीवित रहन महत्वपूर्ण भूमिका खेल्न उल्लेख गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरहरुको सामना गर्न यी अभ्यासहरू आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

आदिवासी परंपरामा निहित ज्ञानले हामीलाई हाम्रो वातावरणसँग बढी दिगो र समर्पित सम्बन्ध विस्तारतर्फ अग्रसर गराउन सक्ने उल्लेख गर्दै मन्त्री पाण्डेले तर यी अभ्यासहरू बढ्दो आधुनिकता, शहरीकरण, र जलवायु परिवर्तनका कारण मानिसहरु विस्थापित हुने समस्यासँगै ज्ञानहरु लोप हुने हराउने खतरा रहेको हुँदा यी ज्ञानलाई बचाउन र प्रवद्धन गर्नु हाम्रो कर्तव्य भएको उल्लेख गर्नुभयो

अमूर्त सांस्कृतिक सम्पदाले प्रकोपका बेला समुदायहरूलाई आपमा जोडने बन्धनका रुपमा काम गर्ने र यसले सामाजिक संरचना सुदृढ पार्न मद्धत गर्ने उल्लेख गर्दै प्रकोपको समयमा, एकै खाले सांस्कृतिक अभ्यास र मूल्य मान्यता भएका समुदायहरू यस्ता संकटबाट छिटो सँगै उठ्ने दृष्ठान्त दिदै मन्त्री पाण्डेले चाडपर्व, अनुष्ठान, र सामुदायिक परंपराहरूले सामूहिक रुपमा समास्यका समाधान र एकले अर्कोलाई सहयोगको भावना बढाउने यसले संकटका बेला मानसिक र भावनात्मक रुपमा बलियो हुन मद्दत गर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले जापानमा प्राकृतिक प्रकोपपछि परमपरागत काठका संरचनाहरूको वार्षिक पुनर्निर्माण गर्ने परम्पराको उदाहरण प्रस्तुत गर्दै यी कुरा केवल संरक्षणको विषय मात्र नभएर समुदायको एकजुट हुन र एकअर्कासँग र आफ्नो वातावरणसँगको सम्बन्धलाई पुनः पुष्टि गर्ने तरिका भएको बताउनुभयो । त्यस्तै अफ्रिकामा, परंपरागत संगीत र कथावाचनले प्रकोपका बेला हुने आघात र क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नृ उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया