५ आश्विन २०८१, शनिबार | September 21, 2024

सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः मन्त्री पाण्डे 


September 21, 2024
0
Shares
काठमाडौँ, ५ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आज यहाँ आयोजित ‘साउथ एसियन ट्राभल अवार्ड’को आठौँ संस्करणको समापन समारोहमा उहाँले यसप्रकारका कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायनमान बनाउनुका साथै संस्कृति जगेर्ना गर्ने बताउनुभयो ।
“पर्यटन क्षेत्र चलायमान हुँदा मुलुकको अर्थतन्त्र चलायमान मात्रै नभइ संस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ”, मन्त्री पाण्डेले भन्नुभयो । साउथ एशियन ट्राभल अवार्डका अध्यक्ष अब्दुल लतिफले यस अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको बताउनुभयो ।
आठौँ संस्करणका लागि दक्षिण एसियाका चार सय होटल र ट्राभल मनोनयनमा परेका थिए । जसमा नेपालले २१ वटा अवार्ड जितेको छ । नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य अवार्ड प्राप्त गरेको छ । नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलका तर्फ पनि अवार्ड जितेको छ ।
त्यस अवसरमा ‘साटा फेस अफ साउथ एशियन टुरिजम अवार्ड’ द्वारिका होटेलका स्व अम्बिका श्रेष्ठ र पर्यटन व्यवसायी कर्ण शाक्यलाई प्रदान गरियो ।  यसको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले एटोल, र बेंगलुरुमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक वर्ष, अवार्ड समारोह र गाला डिनरमा उद्योगका केही प्रख्यात व्यक्तित्वहरू उपस्थित हुन्छन् ।

प्रतिक्रिया