देउवा समूहको काठमाडौं महानगर कांग्रेस अधिवेशन असोज २२ गते
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समुहको काठमाडौं महानगर समितिले २०८३ असोज २२ गते बिहीबार ‘काठमाडौं महानगर अधिवेशन’आयोजना गर्ने भएको छ।
देउवा समूहको आयोजनामा हुन लागेको अधिवेशन क्षेत्रपाटीस्थित पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने काठमाडौंका संयोजक जयकृष्ण महर्जनले जानकारी दिए ।
‘अग्रजको अनुभव, युवाको ऊर्जा’ भन्ने मूल भावसहित आयोजना गर्न लागिएको अधिवेशनमा पार्टीको संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा महानगरभित्रको पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ।
कार्यक्रममा कांग्रेसको मूल आदर्श ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई नाराका रूपमा अघि सारिएको छ।
महानगर अधिवेशनलाई पार्टीभित्रको संगठनात्मक गतिविधि र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ। अधिवेशनमा महानगर क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा अग्रज नेताको अनुभव र युवा पुस्ताको ऊर्जालाई पार्टी संगठनमा जोड्दै कांग्रेसलाई थप गतिशील बनाउने विषयमा जोड दिइने बताइएको छ।



