दलित खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा मञ्जित ताम्रकार, भने– ‘जित्छु पक्का, ढुक्क भए हुन्छ’
काठमाडौं । राष्ट्रिय दलित आयोगका पूर्वकार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा दलित खुलातर्फबाट उम्मेदवारी दिएका छन्।
लामो समयदेखि दलित अधिकारको आन्दोलनमा सक्रिय ताम्राकारले आफू कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा विश्वस्त रहेको बताएका छन्। उनले भने, ‘जित्छु पक्का। ढुक्क भए हुन्छ।’
उनी नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । लामो समय विद्यार्थी राजनीतिमा बिताएका ताम्राकारले नेपालको दलित आन्दोलनमा लामो समय काम गरेको र दलित समुदायका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गर्न भूमिका खेलेका छन् । दलित समुदायको अधिकारका लागि उनी निरन्तर संघर्षशील छन् ।
‘मैले लामो समय नेपालको दलित आन्दोलनमा काम गरेको छु। नेपालको दलित एजेन्डालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान गर्ने काम गरेको छु,’ उनले भने, ‘नेपालको दलित समुदायको अधिकारका निम्ति सबैभन्दा बढी संघर्षशील भएर काम गरेको अनुभव मसँग छ।’
‘कांग्रेस अब जुर्मुराएको छ’
ताम्राकारले पछिल्लो समय कांग्रेस राजनीतिक रूपमा सक्रिय र सैद्धान्तिक रूपमा स्पष्ट बन्दै गएको बताए। वर्तमान परिस्थितिमा नेपाली समाजमा कांग्रेसको आवश्यकता झन् बढ्दै गएको उनको दाबी छ।
‘कांग्रेस वास्तवमा अब जुर्मुराएको छ। कांग्रेस सैद्धान्तिक रूपले पनि स्पष्ट भएको छ,’ उनले भने, ‘अहिलेको समयसन्दर्भ अनुसार नेपाली कांग्रेसको आवश्यकता नेपाली समाजमा झन् गहिरिँदै गएको छ, झन् बढ्दै गएको छ।’
उनले १५औँ महाधिवेशनपछि कांग्रेस देशको पहिलो राजनीतिक शक्ति बन्ने दाबीसमेत गरे।
‘यो महाधिवेशनपछि नेपाली कांग्रेस यो देशको नम्बर एक पार्टी भएर आउनेछ। पक्का, पक्का। ८४ मा पहिलो पार्टी बन्नकै लागि हामीले काम गरिरहेका छौँ,’ उनले भने।
‘गगन थापा नै अहिलेको आवश्यकता’
ताम्राकारले कांग्रेस सभापतिका रूपमा गगन थापाको नेतृत्व आवश्यक रहेको बताउछन् । उनले १५औँ महाधिवेशनले थापालाई सभापतिमा निर्वाचित गर्ने आफूहरूको पूर्ण अपेक्षा रहेको बताए।
‘अब एब्सोलुटली गगन थापा नै हुनुहुन्छ,’ उनले भने, ‘यो महाधिवेशनले सर्वसम्मत रूपमा गगन थापालाई नै निर्वाचित गर्नेछ भन्ने हामीले पूर्ण आशा लिएका छौँ।’
थापाले आफ्नो ‘मिसन र भिजन’अनुसार कांग्रेसलाई बलियो बनाउने प्रयास गरिरहेको उनको दाबी छ।
‘अहिलेको परिप्रेक्ष्यमा अहिलेको आवश्यकता नै गगन थापाको छ। एकपटक कांग्रेसलाई उहाँले चाहेजसरी, उहाँको मिसन र भिजनअनुसार बलियो बनाउने ढंगले काम गर्न खोज्नुभएको छ,’ ताम्रकारले भने, ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा गगन थापा नै पहिलो आवश्यकता हो।’
दलित अधिकारको आन्दोलनबाट कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न लागेका ताम्रकारले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र दलित समुदायका सवाललाई थप प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा प्रस्तुत गरेका छन्।



