कांग्रेस केन्द्रीय सदस्यमा इ. ऋषि कोइरालाको उम्मेदवारी, भने– ‘मेरो होइन, हाम्रो कांग्रेस बनाउनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर ऋषि कोइरालाले केन्द्रीय सदस्य पदमा खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका छन्। काठमाडौं क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित कोइरालाले नवीन सोच, पुस्तान्तरण र प्राविधिक ज्ञानसहितको नयाँ नेतृत्व आवश्यक रहेको भन्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
कोइरालाले आफ्नो उम्मेदवारीलाई ‘मेरो होइन, हाम्रो कांग्रेस’ निर्माण गर्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्। युवाको आवाजलाई ऊर्जाका साथ सम्बोधन गर्दै समयअनुकूल परिवर्तनको नेतृत्व गर्न, अग्रजको सम्मान कायम राख्न र पार्टीभित्र लोकतान्त्रिक तथा स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
उनले राजनीतिमा पुस्तान्तरणको सन्देश दिनुका साथै निष्ठा र आदर्शको संरक्षण गर्दै कांग्रेसलाई समयको आवश्यकता र जनताको अपेक्षाअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
कोइरालाले भनेका छन्, “अहिलेको विषम परिस्थितिमा नवयुवापुस्ताको परिवर्तनको आकांक्षालाई आत्मसात् गर्दै समयको पदचाप र गतिलाई बुझ्नुपर्छ। समयको आवश्यकता, विकासका सम्भावना र जनताको चाहना बुझेर समाजको नेतृत्व गर्न सक्ने नयाँ पुस्तालाई कांग्रेसले अघि बढाउनुपर्छ।”
उनका अनुसार अहिले कांग्रेसले नैतिक धरातल बलियो भएका, इमानदार, निस्कलंक, परीक्षण नभएका तथा प्राविधिक र व्यावसायिक क्षेत्रमा ज्ञान र अनुभव भएका नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकता छ।
“अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई जोडेर कांग्रेसलाई बलियो र समयअनुकूल बनाउनुपर्छ,” कोइरालाको धारणा छ।
इन्जिनियरिङ तथा पेशागत क्षेत्रमा लामो समयदेखि सक्रिय कोइराला नेपाल बीमा सर्भेयर संघ (NISA) का अध्यक्ष,नेपाल भ्यालुअर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्। हाल नेपाल बीमा सर्भेयर संघको नेतृत्वमा रहेका उनी बीमा तथा मूल्यांकन क्षेत्रका पेशागत समस्या र नीतिगत विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्।
सर्भेयरहरूको पेशागत अवसर र कामको वितरणलाई व्यवस्थित गर्न रोटेसन प्रणाली लागू गराउन आफूले लामो समयदेखि पहल गर्दै आएको कोइरालाको दाबी छ। सर्भेयरलाई क्षमता र आवश्यकताअनुसार काम उपलब्ध गराउने तथा कामको वितरणलाई व्यवस्थित बनाउने विषयमा सरकार र सम्बन्धित निकायसँग समेत संवाद भएको सार्वजनिक विवरणमा उल्लेख छ।
पेशागत क्षेत्रमा कुनै समस्या आउँदा सम्बन्धित निकायसँग प्रत्यक्ष संवाद र समन्वय गरी समाधानका लागि पहल गर्ने भूमिकामा कोइरालाको महत्वपुर्ण भूमिका थियो । सर्भेयरहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र पेशालाई व्यवस्थित तथा मर्यादित बनाउने विषयमा समेत उनले आवाज उठाउँदै आएका छन्।
कोइराला कोइराला बन्धु समाज र बीपी स्टडी सर्कलका अध्यक्षसमेत हुन्। उनी निर्देशी इन्जिनियरिङ कन्सल्टेन्सी, एनडी इन्जिनियरिङ एन्ड बिल्डर्स तथा निर्देशी इनर्जी लिमिटेडका प्रबन्ध निर्देशकका रूपमा समेत आबद्ध छन्।
व्यावसायिक तथा प्राविधिक क्षेत्रको अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्ने उद्देश्यसहित आफू अघि बढेको बताउँदै कोइरालाले कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएका छन्।
उनको उम्मेदवारीको मुख्य एजेन्डामा नवीन सोच, युवाको आवाज, पुस्तान्तरण, अग्रजप्रतिको सम्मान, लोकतान्त्रिक चरित्र, स्वस्थ प्रतिस्पर्धा, निष्ठा र आदर्शको संरक्षण तथा ‘मेरो होइन, हाम्रो कांग्रेस’ निर्माण गर्ने प्रतिबद्धता रहेका छन्।



