१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

उद्धारस्थलबाट फर्किए रास्वपाका दुई सांसद


September 4, 2026
498
Shares

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपाने काठमाडौं फर्किएका छन्।

इन्जिनियरसमेत रहेका दुवै सांसद उद्धारमा प्राविधिक सहयोगका लागि फिल्डमा खटिएका थिए। तर, उद्धारस्थलमा सांसदको उपस्थितिले काममा अवरोध पुगेको गुनासो आएपछि पार्टीले उनीहरूलाई फर्किन निर्देशन दिएको थियो।

न्यौपानेले आफू दैनिक १८ घण्टासम्म उद्धारमा खटिएको जनाउँदै अब सुरुङभित्रको जिम्मेवारी नेपाली सेना र सशस्त्र प्रहरीले सम्हाल्ने भएकाले फर्किएको बताएका छन्।

यता सांसद ढकालले भने फिल्डमा सबैसँग सहकार्य भए पनि मिडियामा नकारात्मकता फैलाइएको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।

उनले लेखेका छन्, ‘फिल्डमा सबैको सहयोग थियो, तर मिडियामा यति नकारात्मकता फैलाइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब भयो।’

ढकालले प्रधानमन्त्री बालेन्द्र शाहप्रति पनि कटाक्ष गर्दै लेखेका छन्, ‘सदनमा सकिँदैन, सम्भव छैन भन्ने कुरा गरिरहँदा हामीले गरेर देखाउने चरणमा छौँ।’

प्रतिक्रिया