१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

कांग्रेसमा नयाँ हलचलः देउवालाई ‘सर्वोच्च नेता’ बनाउने प्रस्तावदेखि वरिष्ठलाई सन्याससम्म


September 4, 2026
332
Shares

कांग्रेसमा नयाँ हलचल : २१ नेताको ५ घण्टे बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको विषयलाई लिएर नयाँ राजनीतिक हलचल सुरु भएको छ। तिनकुनेस्थित एक फुडल्याण्डमा कांग्रेसका उपलब्ध २१ जना नेताहरूबीच करिब ५ घण्टा लामो सघन छलफल भएपछि पार्टीभित्र नयाँ समीकरणको संकेत देखिएको छ।

चुनदेवीमा भएको अधिवेशन बोलाउनेसम्बन्धी बैठकमा सहभागी नभएका नेताहरूले यसपटक छुट्टै बैठक गर्दै पार्टी एकतालाई निर्णायक निष्कर्षमा पुर्‍याउने प्रस्ताव पारित गरेका छन्।

बैठकमा नेत्री महालक्ष्मी उपाध्याय ‘डिना’ले वर्तमान परिस्थितिमा पार्टी एकता अपरिहार्य रहेको धारणा राखेकी थिइन्। नेता गोविन्द भट्टराईले पार्टीका सैद्धान्तिक तथा नीतिगत निर्णय सीमित व्यक्तिको इच्छा वा लहडका आधारमा हुन नसक्ने बताएका थिए।

बैठकमा सबैभन्दा चर्चामा आएको प्रस्ताव भने नेता उमेशजङ्ग रायमाझीको रह्यो। उनले पूर्व सभापति शेरबहादुर देउवालाई ‘सर्वोच्च नेता’ घोषणा गर्ने र अन्य वरिष्ठ नेताहरूलाई राजनीतिक सन्यासको बाटो रोज्न प्रस्ताव गरेका छन्।

राष्ट्रिय स्वाधीनता, समृद्धि र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै रायमाझीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई समेत नयाँ ढंगले अघि सारेका हुन्।

बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, पूर्वमन्त्री सीता गुरुङ, अम्बिका बस्नेत, श्याम घिमिरेलगायतका नेताहरूले हालै मुलुकमा देखिएका विपत्ति, राहत तथा उद्धार र दीर्घकालीन समाधानका विषयमा पनि धारणा राखेका थिए।

अब भेटवार्ताको ‘प्याकेज’ : शेखरदेखि देउवा र गगनसम्म

५ घण्टे छलफलपछि नेताहरूले पार्टी एकताको प्रस्तावलाई थप अघि बढाउने रणनीति बनाएका छन्।

प्रस्तावअनुसार शुक्रबार बिहान डा। शेखर कोइरालासँग र दिउँसो नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।

त्यसपछि पूर्व सभापति शेरबहादुर देउवा र सभापति गगन थापासँग समेत भेट गरी नेतृत्व, पार्टी एकता र आगामी राजनीतिक दिशासहितको ‘प्याकेज’मा सहमतिको प्रस्ताव राख्ने तयारी गरिएको छ।

कांग्रेसभित्र नेतृत्वको विषयलाई लिएर लामो समयदेखि चलिरहेको रस्साकस्सीका बीच २१ नेताको यो बैठक र त्यसबाट अघि सारिएको एकताको प्रस्तावले पार्टीभित्रको राजनीतिक समीकरणलाई नयाँ मोड दिने संकेत गरेको छ।

चुनदेवीको बैठकमा अनुपस्थित नेताहरूको छुट्टै जमघट, पाँच घण्टे छलफल, देउवालाई ‘सर्वोच्च नेता’ बनाउने प्रस्ताव र वरिष्ठलाई सन्यासको सुझाव—कांग्रेसभित्रको यो नयाँ राजनीतिक प्रयोग अब कहाँ पुग्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया