९ भदौ २०८३, मंगलबार | August 25, 2026

मुद्दा-मामिला छाडेर गगनको नेतृत्वमा कांग्रेस रूपान्तरणमा जुटौँ : बलदेव तिमल्सिना


August 25, 2026
0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले अदालतको ढोका ढकढक्याएर पार्टीको आन्तरिक जीवन्तता र रूपान्तरणको प्रक्रियालाई रोक्ने प्रयास लोकतान्त्रिक संस्कृतिविपरीत भएको बताएका छन्।

तिमल्सिनाले नेपाली कांग्रेसको विशेष महाधिवेशन कुनै कोठाभित्र गरिएको षड्यन्त्र नभई पार्टीको विधानअनुसार बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको विवेक, समर्थन र सक्रिय सहभागिताबाट सम्पन्न वैधानिक प्रक्रिया भएको दाबी गरेका छन्।

उनका अनुसार निर्वाचन आयोगले समेत आधिकारिकता प्रदान गरिसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिहरूको सर्वोच्चताबाट स्थापित नेतृत्व नै आजको नेपाली कांग्रेसको वास्तविक धरातल हो।

उनले सभापति गगनकुमार थापाको नेतृत्व कुनै गुटगत स्वार्थका लागि नभएको स्पष्ट पार्दै कांग्रेसलाई यथास्थितिबाट मुक्त गरी विचार, नीति र नेतृत्वमा युगानुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ अघि बढाइएको बताएका छन्।

“मुद्दा-मामिला र प्राविधिक उल्झन देखाएर १५औँ महाधिवेशन तथा रूपान्तरणको प्रक्रियालाई अवरुद्ध पार्ने प्रयासले पार्टीलाई थप गतिहीन बनाउनेछ,” तिमल्सिनाले उल्लेख गरेका छन्।

न्यायिक प्रक्रियाप्रति सम्मान रहेको बताउँदै उनले लोकतान्त्रिक दलको अन्तिम शक्ति र फैसला भने सधैँ महाधिवेशन प्रतिनिधि तथा आम कार्यकर्ताको सार्वभौम विवेकमा निहित रहने धारणा राखेका छन्।

उनले पार्टीभित्रको विवादलाई अदालत र मुद्दा-मामिलाको बाटोमा लैजानुभन्दा विधानसम्मत ढंगले सम्पन्न विशेष महाधिवेशनको कार्यादेश स्वीकार गर्न आग्रह गरेका छन्।

“मुद्दा-मामिला छाडौँ, वैधानिक बाटोबाट अघि बढेको विशेष महाधिवेशनको कार्यादेशलाई स्वीकार गरौँ र गगन थापाको नेतृत्वमा कांग्रेसलाई रूपान्तरणको दिशामा अगाडि बढाऔँ,” तिमल्सिनाले आह्वान गरेका छन्।

प्रतिक्रिया