किशोर श्रेष्ठलाई बरामद सामानसहित सशरीर उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई सोमबार बिहान १० बजे अदालतमा सशरीर उपस्थित गराउन आदेश दिएको छ।
पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि शुक्रबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो।
इजलासले पत्रकार श्रेष्ठविरुद्ध परेको उजुरी तथा उनलाई पक्राउ गर्नुको कारणसमेत स्पष्ट पार्दै जवाफ पेस गर्न सम्बन्धित पक्षलाई आदेश दिएको छ। साथै, जाहेरी दरखास्तसहितको सम्पूर्ण अनुसन्धान फाइल अदालतमा पेस गर्नसमेत आदेश दिइएको छ।
सर्वोच्चले श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइल फोनसमेत अदालतमा पेस गर्न आदेश दिएको छ।
पत्रकार श्रेष्ठको पक्राउसँगै सञ्चारमाध्यमको सामग्री प्रकाशन तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारको विषयसमेत चर्चामा आएको छ।
नेपालको संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गर्दै कुनै सामग्री मुद्रण, प्रकाशन वा प्रसारण गरेकै आधारमा त्यस्तो सामग्री प्रकाशन वा प्रसारण गर्ने सञ्चार माध्यमका उपकरण बन्द वा जफत गर्न नहुने व्यवस्था गरेको छ।
अब सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराई पक्राउको कानुनी आधार, अनुसन्धानको अवस्था तथा बरामद गरिएका सञ्चार उपकरणसम्बन्धी विषयमा समेत थप सुनुवाइ गर्नेछ।
सर्वोच्चको आदेशसँगै पत्रकार श्रेष्ठको पक्राउ प्रकरण थप पेचिलो बनेको छ।


