भण्डारीको कटाक्ष– देउवालाई रेड कार्पेट, सरकारको सहमतिबिना असम्भव
काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा कलाकार विशाल भण्डारीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘अस्ति इन्टरपोलको रेड कर्नर, हिजो देश फर्किन रेड कार्पेट ?’ उनले यस्तो परिस्थिति सरकारको सहमतिबिना सम्भव नहुने आशंका व्यक्त गरेका छन्।
उनले देउवालाई फर्काएर ‘पेलेपछि’ कांग्रेसभित्र गगन थापा नेतृत्वको समूहलाई ‘ब्यालेन्स’ गर्ने रणनीति अपनाइएको हो कि भन्ने प्रश्नसमेत उठाएका छन्। यद्यपि, उनले यो कुरा आफूले चिया गफमा सुनेको मात्र भएको भन्दै सत्य भए यस्तो निर्णय गर्नु गलत हुने बताएका छन्।
भण्डारीले पछिल्लो राजनीतिक गतिविधिलाई लिएर सरकारलाई लोकप्रियताको डरमा निर्णय नगर्न सुझाव दिएका छन्। ‘एउटा व्यक्तिको पपुलारिटीसँग डराएर आन्दोलनको भावनाविपरीत यस्तो सम्झौता नगरेको भए हुन्थ्यो’ भन्दै उनले सरकारको ध्यान सत्ता समीकरणभन्दा विकास निर्माण र जनताका काममा केन्द्रित हुनुपर्ने बताएका छन्।
उनका अनुसार सरकारसँग गर्ने काम असंख्य छन् भने प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारका गल्ती र कमजोरीमाथि प्रश्न उठाउनु हो। राजनीतिक संस्कारबाट बनेका नेताहरूले आफ्नो शैलीअनुसार बोल्नु र विरोध गर्नु स्वाभाविक भएको उनको टिप्पणी छ।
भण्डारीले अहिले नै ‘फलानोलाई ब्यालेन्स गर्ने, ढिस्कानोलाई तह लगाउने’ रणनीतिमा लाग्नुभन्दा देश विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
उनले भविष्यको सम्भावित सत्ता समीकरणतर्फ संकेत गर्दै कांग्रेसमा नेतृत्व परिवर्तन भएलगत्तै अर्को सत्ता समीकरण उल्टिन सक्ने र तीन प्रमुख शक्ति एक ठाउँमा उभिए त्यो असम्भव नरहेको चेतावनी दिएका छन्।
‘क्षणिक फाइदा हेरेर यस्तो ब्लन्डर नगरेको राम्रो हो, बेलैमा सचेत बनौं’ भन्दै भण्डारीले राजनीतिक नेतृत्वलाई दीर्घकालीन परिणामबारे सोच्न आग्रह गरेका छन्।
उनको यो टिप्पणीले देउवाको स्वदेश फिर्तीदेखि कांग्रेसभित्रको शक्ति सन्तुलन र सरकारको सम्भावित राजनीतिक रणनीतिमाथि नयाँ बहस जन्माएको छ।


