सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै, सेवाग्राहीको झन्झट घट्ने
काठमाडौं । सरकारी कार्यालयमा निवेदन पेश गर्दा कार्यालयपिच्छे फरक–फरक ढाँचा प्रयोग गर्नुपर्ने झन्झट अब हट्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने गरी ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिएको छ।
नयाँ मार्गदर्शन लागू भएपछि नागरिकले एउटै प्रकृतिको सेवाका लागि विभिन्न सरकारी कार्यालयमा फरक–फरक शैलीमा निवेदन लेख्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। यसले निवेदन लेख्ने प्रक्रियामा देखिँदै आएको अन्योल र अनावश्यक झन्झट कम गर्दै सरकारी सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउने सरकारको विश्वास छ।
सरकारका अनुसार मार्गदर्शनले परम्परागत कागजी प्रक्रियालाई क्रमशः डिजिटल माध्यम, अनलाइन प्रणाली तथा मोबाइल एपमार्फत सेवा लिन सक्ने व्यवस्थातर्फ अघि बढाउन समेत आधार तयार गर्नेछ। यसबाट ‘डिजिटल नेपाल’को अवधारणालाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, सरकारी कार्यालयमा आवेदन वा निवेदन भर्न नजान्दा सेवाग्राहीले बाह्य व्यक्तिको सहारा लिनुपर्ने अवस्था अन्त्य गर्दै कार्यालय परिसरमा पैसा लिएर अनधिकृत रूपमा सेवा सहजीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि मार्गदर्शन प्रभावकारी हुने सरकारको अपेक्षा छ।
मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी भने सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई तोकिएको छ। अब कार्यालयहरूले तोकिएको ढाँचा र कार्यान्वयनसम्बन्धी व्यवस्थालाई अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
सरकारको यो कदमले सरकारी कार्यालयमा सेवा लिन जाने नागरिकको समय, श्रम र खर्च घटाउने तथा सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।


