२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

देउवाको ठूलो कानुनी दाउ सफल, गगनको आधिकारिकतामाथि फेरि प्रश्न !


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि एकपटक सर्वोच्च अदालतको केन्द्रमा पुगेको छ। पार्टीभित्रको शक्ति संघर्षलाई नयाँ मोड दिँदै सर्वोच्च अदालतले सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदन अघि बढाउन अनुमति दिएको छ।

प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवाको पुनरावलोकन निवेदनमा ‘पुनरावलोकनको निस्सा’ प्रदान गर्ने आदेश दिएको हो। यससँगै यसअघि भएको सर्वोच्चको फैसला पुनः न्यायिक परीक्षणमा जाने भएको छ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको थियो। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै देउवाले पुनरावलोकनको माग गरेका थिए।

बिहीबारको आदेशसँगै गगन थापा नेतृत्वले पाएको आधिकारिकतामाथि पुनः सुनुवाइ हुने कानुनी ढोका खुलेको छ। यसले नेपाली कांग्रेसभित्रको नेतृत्व विवादलाई फेरि तातो राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।

अब सर्वोच्चको अन्तिम निर्णयले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया