९ श्रावण २०८३, शनिबार | July 25, 2026

अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित र व्यवस्थित बनाउन वालेट (ई–वालेट) सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

अब नेपाली नागरिकले नयाँ वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने भएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

संशोधित व्यवस्थाअनुसार अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट सबै वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण रहेको वा नरहेको सम्बन्धमा स्वघोषणा लिनुपर्नेछ।

त्यस्तै, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका सबै नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्नेछ।

विदेशमा रहेका नेपाली नागरिकले भने हालझैँ आवश्यक कागजातका आधारमा विदेशबाटै अनलाइनमार्फत वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट गरेको छ।

यस्तै, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने विशेष व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले यो व्यवस्थाले डिजिटल भुक्तानी प्रणालीमा प्रयोगकर्ताको पहिचान प्रमाणीकरण थप प्रभावकारी हुने, ठगी तथा दुरुपयोग नियन्त्रणमा सहयोग पुग्ने र वित्तीय प्रणालीको विश्वसनीयता बढ्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया