गणेश नेपाली आत्मदाह प्रकरणः रातभरी भएको वार्तामा जुटेन सहमति,कसले दियो दबाब ?
काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी टोलीबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा करिब १४ घण्टा लामो वार्ता भए पनि सहमति जुट्न सकेन। दुवै पक्षले आज पुनः वार्ता जारी राख्ने बताएका छन्।
सरकारले मृतक परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति, मृतककी पत्नीलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न सकारात्मक देखिएको पीडित पक्षको भनाइ छ। तर, संसदीय छानबिनको सट्टा प्रशासनिक छानबिन गर्ने सरकारी प्रस्तावमा विवाद कायम छ।
पीडित पक्षले नगर प्रहरी र ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान मुद्दा चलाउनुपर्ने, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्नुपर्ने र घटनास्थललाई ‘शहीद गणेश नेपाली चोक’ नामकरण गर्नुपर्ने मागमा अडान राखेको छ।
वार्ताका क्रममा दबाब र धम्कीपूर्ण व्यवहार भएको आरोपसमेत पीडित पक्षले लगाएको छ। निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिइएको छ।
परिवारसँग सहमति नहुँदा गणेश नेपालीको अन्त्येष्टि अझै रोकिएको छ। माग पूरा नभएसम्म शव नउठाउने परिवारको अडान रहेको छ।
पीडित पक्षले मृतकका बिरामी बुवाआमा र श्रीमतीलाई रातभर जिल्ला प्रशासन कार्यालयमै राखिएको तथा आफन्तहरूलाई सहमतिमा हस्ताक्षर गर्न दबाब दिइएको आरोप पनि लगाएको छ । पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र न्याय सुनिश्चित नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ ।


