२५ असार २०८३, बिहिबार | July 9, 2026

बालेनको रोजाइमा परेका मुख्यसचिव कार्की को हुन् ?


249
Shares

काठमाडौं । सरकारले प्रशासनिक क्षेत्रको सर्वोच्च पद मुख्यसचिवमा बुधबार गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव बनाइएको जानकारी दिए। उनी हाल प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए।

वरीयताक्रममा निकै पछाडि रहेका कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको रोजाइमा मुख्यसचिव नियुक्त गरिएको हो। सचिवमा बढुवा भएको दुई वर्षमात्र पुगेका कार्कीलाई मुख्यसचिवमा चयन गरिनुलाई प्रशासनिक वृत्तमा अर्थपूर्ण निर्णयका रूपमा हेरिएको छ।
कार्कीले सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनी ल्हासाका लागि महावाणिज्यदूतका रूपमा पनि कार्यरत थिए।

कार्कीसँग कोशी प्रदेशको मन्त्रालयमा सचिव तथा बागमती प्रदेशमा कायममुकायम प्रमुख सचिवका रूपमा काम गरेको अनुभव छ। प्रदेश सरकार र संघीय प्रशासन दुवै तहमा काम गरिसकेका उनी अब देशको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका छन्।

को हुन् कार्की ?
२०२७ सालमा भोजपुरको भंगेरीमा जन्मिएका कार्की २०४६ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।
उनी २०५३ सालमा शाखा अधिकृत, २०६२ मा उपसचिव, २०७० सालमा सहसचिव भएका थिए । उनी २० भदौ २०८१ मा सचिव पदमा बढुवा भएका हुन् । सचिव भएको दुई वर्षमै उनी मुख्यसचिव बनेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र व्यवस्थापनमा अनि जापानको टोकियोस्थित नेशनल ग्राजुएसन इष्टिच्यूट फर पोलिसी स्टडिजबाट ‘इन्टरनेशनल डेभलपमेन्ट स्टडिज’मा मास्टर्स गरेका छन् ।
राष्ट्रिय योजना आयोगको योजना अधिकृतको रुपमा करियर शुरु गरेका कार्कीले लमजुङ, भोजपुर र काभ्रेमा स्थानीय विकास अधिकारीको रुपमा काम गरेका थिए ।
सहसचिव भएपछि उनी डोटी र कञ्चनपुरका सीडीओ बनेका थिए । त्यसपछि एयरपोर्ट अध्यागमनको प्रमुख र पर्यटन विभागको महानिर्देशक बने । उनले चार वर्ष चीनको ल्हासामा महाबाणिज्यदूतको रुपमा काम गरेका थिए ।
बागमती प्रदेशको कामू प्रमुख सचिव बनेका कार्की सचिवमा बढुवा भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव बनेका थिए । उनी जेठ, २०८२ देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिव छन् ।
विकास योजना, अनुगमन, स्थानीय शासन, अध्यागमन व्यवस्थापन लगायतका क्षेत्रमा अनुभव बटुलेका नवनियुक्त मुख्यसचिव कार्की कूटनीतिक एवं वैदेशिक व्यापार नीतिका समेत जानकार हुन् । उनी व्यापार सहजीकरण, नेपाललाई अल्पविकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नती गर्ने रणनीति निर्माणमा संलग्न थिए ।
पछिल्लो समय उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुशासन क्षेत्र हेर्थे । नयाँ सरकार गठन भए लगत्तै सरकारले अघि सारेका शासकीय सुधार कार्ययोजनाहरू बनाउने काममा पनि उनको भूमिका थियो ।

प्रतिक्रिया