१४ असार २०८३, आइतबार | June 28, 2026

एनडीएलएको नयाँ नेतृत्वले कांग्रेसलाई सही दिशा दिन भूमिका खेल्ने काफ्लेको विश्वास


166
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री कुन्दनराज काफ्लेले नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (एनडीएलए) काठमाडौं जिल्ला कार्यसमितिको नवनिर्वाचित नेतृत्वलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै काफ्लेले असार १३ गते सम्पन्न नियमित अधिवेशनबाट लोकतान्त्रिक प्रक्रियाअनुसार नयाँ नेतृत्व चयन भएको उल्लेख गरेका छन्।

अधिवेशनबाट शिवप्रसाद कँडेल अध्यक्ष, विष्णुप्रसाद अर्याल (रिभोल्ट) उपाध्यक्ष, भरतकुमार घिमिरे सचिव र शशिकला मरहठ्ठा कोषाध्यक्षमा मतदान प्रक्रियामार्फत निर्वाचित भएका छन्। विधानबमोजिम अन्य सदस्यसहित सम्पूर्ण कार्यसमिति पनि निर्वाचित भएको उनले जनाएका छन्।

काफ्लेले प्रत्येक सदस्यको मतको सम्मान गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण रूपमा अँगालेर नेतृत्व चयन गरिएको भन्दै एनडीएलए काठमाडौंले सकारात्मक सन्देश दिएको बताएका छन्।

उनले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका पहरेदार भएको उल्लेख गर्दै नवनिर्वाचित नेतृत्वले नेपाली कांग्रेसको वर्तमान चुनौतीपूर्ण अवस्थालाई सही दिशा दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

काफ्लेले अन्त्यमा नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको कामना गर्दै ”जय नेपाल” भन्ने शुभकामना सन्देश दिएका छन्।

प्रतिक्रिया